काठमाडौं, जेठ ४- सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो ।
मौजुदा मन्त्रिपरिषदमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव र स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हसिना खानबाहेक सबै सदस्यहरूको सम्पत्ति विवरण प्राप्त भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ ।
यसअघि सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सहभागी मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्र पठाएका थिए ।
भ्रष्टाचार निवारण ऐनको दफा ५० ले सार्वजनिक पद धारण गरेको व्यक्तिले आफू पदमा बसेको ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण नेपाल सरकारलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ ।