काठमाडौं, जेठ १- सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा पेस हुने भएको छ ।
आज अपराह्न ३ बजे बस्ने संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदका प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
तर संसद्को गतिरोध अन्त्य गर्ने विषयमा भएको सत्तारुढ दलको छलफलमा जुटे पनि कुनै निष्कर्षमा पुगेका छैनन् । दलहरुको आ–आफ्नै अडानले आज पेश हुने नीति तथा कार्यक्रम नै प्रभावित हुने जोखिम देखिएको छ ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मागका कारण सदन दुई महिनादेखि अवरुद्ध छ । आज सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यतालिका रहे पनि सत्तापक्ष र प्रमुख प्रतिपक्षीको अडानका कारण संसद्को गतिरोध अन्त्य हुने संकेत अझै देखिएको छैन ।
कांग्रेसले उठाएको छानबिन समिति गठनका विषयमा प्रधानमन्त्री नरम देखिए पनि एमाले अध्यक्ष केपी शर्मा ओली विपक्षमा रहेका छन् । कांग्रेस पनि टसका मस भएको छैन् । सोमबार दिनभरजसो भएका छलफल निष्कर्षमा नपुगेपछि आज थप गृहकार्यमा नेताहरु जुट्दै छन् ।
त्यसअघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । विहान ९ बजे कांग्रेस संसदीय दलको कार्यालयमा दलको बैठक बसेर थप निर्णय गरिने सचेतक सुशिला थिङले जानकारी दिइन् ।
धमलाका अनुसार नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रिय सभामा छुट्राछुट्टै छलफल गरिने छ ।
प्रतिनिधिसभा बैठकमा जेठ ३, ४, ६, ७, ८ र ९ गते छलफल हुने र अन्तिम दिन पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । त्यसैगरी राष्ट्रिय सभामा भने जेठ ३, ४ र ६ गते सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।
त्यसपछि सरकारले आगामी वर्षको बजेट जेठ १५ मा ल्याउनै पर्ने संवैधानिक व्यवस्था रहेको छ ।