Skip

Hamro Sanchar

गोठाटारमा मोहम्मद हत्या प्रकरण : मुख्य योजनाकारलाई गोलि हानेर प्रहरीले गर्यो पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १७ गते


पर्सा, बैशाख १७- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारमा लाल मोहम्मदको हत्या गर्ने मध्येका मुख्य योजनाकारलाई प्रहरीले वीरगञ्जमा गोली प्रहार गरि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक बब्लु पासवान रहेका छन् ।

पासवानलाई प्रहरीले प्रहरीले वीरगन्ज महानगरपालिका–१६ भुटनदेवीमा प्रहरीले गएराति साढे ११ बजेतिर गोलि प्रहार गरि पक्राउ गरेको हो । आइतबार राति पर्साको वीरगन्जमा प्रहरीको चेकजाँचका क्रममा भाग्न खोजेपछि उनीमाथि प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली उनको देब्रे खुट्टामा लागेको छ भने उनलाई उपचारका लागि प्रहरीले नारायणी अस्तालमा लगिएको छ ।

पर्साका एसपी कुमोध ढुंगेलले चेकजाँचका क्रममा उनी भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको जानकारी दिए । प्रहरीलेपासवानको साथबाट पेस्तोल र लागुऔषध बरामद गरेको छ ।

गोठाटारमा २०७९ असोजमा गोली प्रहारबाट मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या भएको थियो । उक्त घटनामा मोहम्मतको टाउकोमा २ गोली, दाहिने हातमा एउटा र दायाँ तिघ्रामा एक गोली लागेको थियो भने उपचारको क्रममा उनको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

गोठाटारमा मोहम्मद दर्जीले ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’ नामको गार्मेन्ट चलाएका थिए भने घरमा पुग्नै लाग्दा मोटरसाइकलमा आएका दुई जनाले गोली हानेर भागेका थिए ।

जोरपाटीबाट कपडा प्याक गर्ने प्लाष्टिक लिएर फर्केका उनलाई रातिको समयमा बा६ च ५१५२ नम्बरको गाडीबाट ओर्लिनासाथ दुई जनाले गोली हानेका थिए । उक्त घटनामा त्यतिबेलै प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेपनि भारतीय नागरिक बब्लु पासवान भने फरार रहँदै आएका थिए ।

उनी प्रहरीको मोस्ट वान्टेड सूचीमा रहँदै आएका थिए । बब्लु पासवान भारतको रक्सौलका भएको बताइएको छ ।

प्रहरीका अनुसार, पासवान व्यवसायी सुरेश केडियाको अपहरणमा दुई वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् ।


प्रतिकृया दिनुहोस्