Skip

Hamro Sanchar

कागेश्वरी मनोहराका ६३ जना लब्धप्रतिष्ठित महिला सम्मानित

प्रदिप नेपाली प्रकाशित : २०८० फागुन, २६ गते


काठमाडौं, फागुन २६- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका ६३ जना लब्धप्रतिष्ठित महिला सम्मानित भएका छन् । नगरपालिकाले ११४औं अन्तर्राष्ट्रिय नारी दिवसमा एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई सम्मान गरेको हो ।

नगरपालिकाले महिला अधिकारको क्षेत्रमा लामो समय काम गरेका अनुभवी, राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थामा आवद्ध, समाजसेवा तथा राजनीतिक लगायतका क्षेत्रमा समर्पित भई प्रतिष्ठा कमाएका तथा आफ्नै पहलमा व्यवसाय गरी २५ भन्दा बढी महिलाहरूलाई रोजगार दिन सक्नेलाई आवेदन दिन सार्वजनिक सूचना जारी गरेको थियो ।

नगरपालिकाले राष्ट्रसेवक कर्मचारी, स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएका, खेलकुदको क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने, समाजसेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने, मानव अधिकारकर्मी महिला, नीति बिज्ञ, कृषि क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने, न्याय क्षेत्र, राजनीतिक क्षेत्र, महिला ब्यबसाय प्रबर्दनमा उल्लेख्य भूमिका निर्वाह गर्नेलगायत विभिन्न विधामा महत्वपूर्ण भूमिका निर्वाह गरेका नगरबासी महिलाहरुलाई सम्मान गरेको हो ।

उक्त नामहरु नगरपालिकाको महिला बालबालिका तथा समाजकल्याण शाखामा प्राप्त भएको थियो । सम्मानित हुने महिलाहरुलाई प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा.आरजु राणा देउवा, कार्यक्रमका सभापति तथा नगर प्रमुख उपेन्द्र कार्की, बिशेष अतिथि प्रतिनिधि सभा सदस्य तथा अर्थ समिति सभापति सन्तोष चालिसेलगायतले प्रमाणपत्रसहित दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य देउवाले महिलामाथि हुने विभेद अन्त्यका लागि आफु निरन्तर लड्ने बताइन् ।

महिला हकअधिकारका लागि लामो समयदेखि पैरवी गर्दै आएकी कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी देउवाले महिलालाई सबै क्षेत्रबाट प्रहार हुने भएकाले महिलाको न्याय र समानताका लागि निरन्तर लड्ने बताएकी हुन् । महिलामैत्री नीति र कानुन निर्माण, सूचना प्रविधिमा महिलाको पहुँच स्थापित गर्नका लागि संसदमा क्रियाशील रहने उनको भनाई थियो ।

यस्तै बिशेष प्रतिनिधि सभा सदस्य चालिसेले सरकारी नीति, कार्यक्रम र कार्ययोजनामा महिलाको अधिकतम सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता औल्याउँदै महिलाहरूले आफ्ना हक, अधिकारका लागि आवाज उठाउनुका साथै कर्तव्य पालनामा पनि चुक्न नहुने धारणा राखे ।

यसैगरी कार्यक्रम सभापति तथा नगर प्रमुख कार्कीले सामाजिक कलङ्क बनेको बढ्दो महिला हिंसाले सुरक्षा चुनौती थपिएको बताए । गर्भमै छोरीको हत्या, अशिक्षा, बालविवाह, दाइजो, बलात्कार, घरेलु हिंसा जस्ता महिलाविरुद्ध हुने त्रासदी नियन्त्रण नभएसम्म समाजले अग्रगति लिन नसक्ने धारणा राखे । “महिलामाथि हुने हिंसा समुन्नत समाजका लागि वाधकसमेत भएकोले यसलाई अन्त्य नगरे महिलाले समान अवसर र अधिकार पाउन सक्दैनन्,” उनले भने । उनले विकासको सहयात्रीकोरुपमा रहेका महिलाको प्रत्येक क्षेत्रमा समान सहभागिता आवश्यक रहेको जिकिर गरे । उनले महिलाहरुमा स्वावलम्बी बन्न अनुरोध गर्दै सफलताका लागि मिहिनेत भन्दा अरु केहि नभएको बताए ।

नगर प्रमुख कार्कीले नगरपालिकामा ६३ वटा महिला समुहहरु दर्ता भएको जानकारी दिए । सम्मान कार्यक्रमले नगरपालिकामा नगरपालिकाको अभिलेखीकरण गर्ने पहिलो काम भएको भन्दै सम्मानित हुनेहरुलाई आज लगाइएको फुलमालाले जिम्मेवारी थपिएको महसुस गर्नुपर्ने भनाई छ । नगरपालिकाले महिला बिकासका निम्ति क्षमता विकास र उद्यमशीलका कार्यक्रमहरु ल्याउने जानकारी दिए ।

नारी दिवसका अवसरमा सम्मानित हुने महिलाहरुको संघर्ष र कहानी सम्मलित पुस्तिका प्रकाशन गर्न निर्देशन समेत दिए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य बिष्णु देवी पुडासैनी, नेकपा एमाले केन्द्रिय सदस्य तथा पुर्व प्रतिनिधि सभा सदस्य सरिता न्यौपाने, पुर्व नगर उप-प्रमुख बिन्दु पुडासैनी सिम्खडा, नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य महेश्वर फुयाल, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ क्षेत्रीय सभापति कबिर शर्मा फुयाल, वडा नम्बर १ का वडाअध्यक्ष मकुन्द गजुरेल, ३ का अध्यक्ष राममणि पुडासैनी, ४ का अध्यक्ष विजय श्रेष्ठ, ६ का अध्यक्ष प्रकाश फुयाल र ८ का अध्यक्ष हरिभक्त पुडासैनीले मन्तब्य दिएका थिए ।

महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख सबिना श्रेष्ठद्धारा संचालित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले मन्तब्यसहित उपस्थितलाई स्वागत गरेका थिए । सम्मान कार्यक्रममा नगरपालिकाका बिभिन्न महिला समुह तथा ९ सयभन्दा बढी स्थानीय महिलाहरुको उपस्थिति रहेको थियो ।

सन् १९१० मार्च ८ मा विश्वका केही प्रबुद्ध महिलाले आफ्नो हक अधिकारका लागि सङ्गठित भएर आन्दोलन सुरु गरेको दिनको सम्झनामा हरेक वर्ष मार्च ८ लाई विश्वभर नारी दिवसकारुपमा मनाउन थालिएको हो ।

यो पनि पढ्नुहोस्- महिलामाथी सबै क्षेत्रबाट प्रहार हुँदो रहेछ, न्याय र समानताका लागि निरन्तर लड्छु : आरजु देउवा


प्रतिकृया दिनुहोस्