
काठमाडौं, फागुन ९- काठमाडौंको सीतापाइलामा एक व्यक्तिले श्रीमती र दुई बालिकाको हत्यापछि आफूले आत्महत्या गरेका छन् ।
सोलुखुम्बुका ‘राजु घिमिरे’ भन्ने राजु विश्वकर्माले सीतापाइलामा एक घरको कोठामा श्रीमती र दुई बालिकाको हत्यापछि नजिकको जंगलमा गएर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।
श्रीमती, एक आफ्नै छोरी र एक नातिनीको हत्यापछि उनले आफ्नै ससुरा र सासुलाई फोन गरेर घटनाका बारेमा जानकारी गराउँदै आफूले पनि आत्महत्या गर्न लागेको बताएको प्रहरीले जानकारी दिएको छ । प्रहरीकाअनुसार श्रीमती र दुई बालिकाको हत्यापछि ह्वाइट गुम्बा नजिकै रहेको जंगलमा झुन्डिएको अवस्थामा राजु फेला परेका हुन् ।
राजुका दुई जना छोराहरु पनि रहेका छन् ।
“बिहान ८ बजेतिर सासु रुकमाया श्रेष्ठ र ससुरा इन्द्रजितलाई फोन गरेर मैले तपाईंको छोरीलाई मारिसकेँ, घरमा गएर हेर्नुहोस् भनेका रहेछन्,” एक प्रहरी अधिकारीले भने, “फोनमा अब म पनि मर्छु भनेपछि ससुरालीले नै पहिले प्रहरीमा खबर गरेका रहेछन् ।”
उनीहरु भाडाको घरमा बस्दै आएका थिए । आफन्तले दिएको जानकारीअनुसार घरमा त्यस्तो झैझगडा गरेको पनि जानकारी पाइएको थिएन । राजुले मादक पदार्थ पनि सेवन नगर्ने हुँदा के कारणले हत्यापछि आत्महत्या भएको भन्ने अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।


















