
काठमाडौं, फागुन ४- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ हुने भएको छ । नगरपालिकाको वडा नम्बर- १ मा रहेको प्रशिद्ध तीर्थस्थल कागेश्वरी मन्दिर परिसरमा फागुन ७ गते १०औं पर्यटन महोत्सव हुने भएकाे हो ।
यसै सन्दर्भमा महोत्सवको तयारी बारे जानकारी दिन नगरपालिकाले भोलि(शनिबार) बिहान नगरपालिकाको सभाहलमा बिहान ८ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ । कागेश्वरी धाम क्षेत्रलाई प्रचारप्रसार गरी बाह्य एवम् आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको नगरप्रमुख उपेन्द्र कार्कीले जानकारी दिए ।
नगरपालिकाको आयोजना तथा कागेश्वरी मन्दिर ब्यबस्थापन एवं पर्यटन विकास समितिको ब्यबस्थापनमा हुने उक्त कार्यक्रमको प्रचारप्रसार तिब्र रुपमा भैरहेको मन्दिर ब्यबस्थापन एवं पर्यटन विकास समितिका अध्यक्ष मणिराम अर्यालले बताए । महोत्सवमा बढीभन्दा बढी भक्तजन भित्र्याउन प्रचारप्रसार तिब्र पारिएको उनको भनाई छ ।
महोत्सवमा स्वस्ति वचन, शंख वादन, नगर नृत्य, पन्चे बाजा, स्थानीय झाँकी तथा नृत्य, विद्यालयको तर्फबाट गायन तथा नृत्य, किसान/विद्यालयको उत्पादनको प्रदर्शन, लोपोन्मुख मौलिक भाडा, वर्तन, जाँतो, कुटो, कोदालो, र हलोको प्रदर्शन साथै ख्याति प्राप्त राष्ट्रिय कलाकारहरूबाट बेजोड प्रस्तुति रहने वडा नम्बर ७ का वडाअध्यक्ष भीमसेन थापाले जानकारी दिए ।
महोत्सव सफल पार्न नगरप्रमुख कार्कीको संयोजकत्वमा ११ सदस्यीय आयोजक समिति गठन गरिएको छ । समितिको उपसंयोजकमा उपमेयर शान्ता थापा रहेकी छन् भने सदस्य सचिवमा वडा नम्बर एकका वडाअध्यक्ष मकुन्द प्रसाद गजुरेल र सदस्यहरुमा ९ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्यहरु रहेका छन् ।
कागेश्वरी मन्दिर पशुपतिनाथ मन्दिरबाट पूर्वीउत्तरतर्फ पर्छ । लिच्छवीकालीन गणेश मूर्ति र गुफा पनि यहाँको आकर्षणको केन्द्र हो । यहाँका धार्मिक एवम् पर्यटकीयस्थललाई चिनाउन २०७२ सालदेखि प्रत्येक वर्ष फागुन ७ गते महोत्सव आयोजना गर्ने गरिएको छ । चतुःषष्ठी लिंगमध्येको ३४औँ लिंगका रूपमा समेत मानिने कागेश्वरीमा प्रत्येक वर्षको भाद्र शुक्ल अष्टमीका दिन भव्य मेला लाग्ने गर्दछ । महादेवले सतीदेवीको मृत शरीर बोकेर हिँड्ने क्रममा यहाँ कान पतन भएको कथा पुराणमा व्याख्या गरिएको छ ।
लोकतान्त्रिक सहिद उद्यानमा एक हजार किलोको कागको मूर्ति निर्माण भएको छ । यो विश्वकै सबैभन्दा ठूलो कागको मूर्ति भएको बताइएको छ । धार्मिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण यो स्थल प्राकृतिकरूपमा पनि आकर्षक छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको कागेश्वरीबाट उपत्यकाको सुन्दर दृश्य देखिन्छ ।



















