वीरेन्द्रनगर, माघ ७- अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनाको नाममा पक्राउ पुर्जी जारी भएको छ ।
कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले शुक्रबार अनुमति दिएको हो ।
सुर्खेतको जनमाविमा अध्ययनरत कालिकोटका राजबहादुरको २०६५ फागुन २६ गते साँझ खुकुरी हानेर हत्या गरिएको थियो । हत्यालगत्तै मृतकका काका नवराजले पदमबहादुर रावत ‘टाइगर’ विरुद्ध किटानी जाहेरी दिएकोमा बुबाले १४ वर्षपछि २०७९ साउन ३ गते पूरक जाहेरी दिएका थिए ।
बुबाको किटानी जाहेरीअनुसार महावै गाउँपालिकाकी सिंहसहित, पदमबहादुर रावत, ‘गुराँस’ नाम गरेका बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
अहिले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।