Skip

Hamro Sanchar

श्रीमतीको हत्या गरी श्रीमानले पनि गरे झुण्डिएर आत्महत्या

रासस प्रकाशित : २०८० कात्तिक, १४ गते


स्याङ्जा, कात्तिक १४- स्याङ्जाको चापाकोटका एक व्यक्तिले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । चापाकोट नगरपालिका–७ खासा बस्ने करिव ५५ वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती पार्वती विकलाई बन्चरो प्रहार गरेर हत्या गरी आफूले पनि आत्महत्या गरेको चापाकोट इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिए ।

श्रीमानले श्रीमतीको घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरेको र त्यसलगत्तै आफू पनि घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको हुनसक्ने घटनाको प्रकृतिले देखाएको उनले बताए ।

साँझ खाना खाएर सुत्न कोठामा गएकी छोरी बिहान उठ्दा आमा बुवा उठेको नदेखेपछि कोठामा हेर्दा आमाको हत्या भएको र बाहिर निस्केर हेर्दा घर नजिकैको रुखमा बुवा झुण्डिरहेको देखेपछि छोरीले छिमेकीलाई खबर गरेको प्रहरी निरीक्षक यादवको भनाइ थियो ।

यसअघि पनि बेलाबखत श्रीमतीलाई कुट्ने र झैझगडा हुने गरेको जानकारी पाइएको र हिजो साँझ खाना खाएपछि राति कुन समयमा सो घटना भयो भन्नेबारे यकिन नभएको उनले बताए । कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरेपछि दुवै शवलाई पोष्टमार्टमका लागि चापाकोट अस्पताल ल्याउने तयारी भईरहेको र घटनाबारे थप अनुसन्धान सुरु भएको निरीक्षक यादवले बताए ।


प्रतिकृया दिनुहोस्