एजेन्सी, असोज १५ – मेक्सिकोमा एउटा चर्चको छत भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ । २० जना भग्नावशेषमा पुरिएका छन् ।
उनीहरुको उद्धारको काम भइरहेको जनाइएको छ । त्यहाँको तटीय राज्य तमाउलीपास स्थित चर्चमा झण्डै एक सय मानिस जम्मा भएर प्रार्थना गरिहरहेको समयमा अचानक छत खसेको थियो । घटनामा घाइते भएका ५० जनालाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । यसैबीच स्पेनको एउटा रात्रि क्लबमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
दक्षिण–पूर्वी स्पेनको मार्सिया सहरमा आज आगलागीमा अरु कयौँ व्यक्ति घाइते भएका छन् ।
आगलागीको घटनामा १४ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एक व्यक्तिको जन्म दिनका अवसरमा परिवारसहित क्लबमा जम्मा भएका धेरै छन् । प्रहरीले आगलागीको कारणबारे थाहा हुन नसकेको जनाएको छ ।