काठमाडौं, असोज ७– अमेरिकाको इन्डियाना मा बुबाआमा गहिरा्े निद्रामा भएको बेला छ महिनाको बच्चालाई मुसाले जिउँदै खाएको छ । बच्चाको शरीरमा ५० भन्दा बढी टोकेको घाउ भेटिएको छ उक्त बारेमा थाहा पाएछि शिशुका बुबाले प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी गराएका हुन् ।
घटनामा कारबाही गर्दै प्रहरीले बालकका बुवा डेभिड र आमा एन्जल स्कोएनबमलाई पक्राउ गरेको छ । उनीहरूसँगै बस्ने उनकी काकीलाई पनि पक्राउ गरिएको छ । उनीहरु विरुद्ध लापरवाही सहित कैयौं फौजदारी अभियोगमा मुद्दा दर्ता गरिएको छ ।
यी दम्पतीका तीन सन्तान छन् । उनीहरू घरमा अर्को परिवारसँग बस्छन् । यो अर्को परिवारमा उनीहरूका दुई बच्चा छन्। घर पुग्दा ६ महिनाको बालक रगतले लतपतिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको टाउको र अनुहारमा ५० भन्दा बढी मुसाले टोकेको घाउ थियो ।उक्त घटना गत हप्ता भएको जनाइएको छ ।
प्रहरी डिटेक्टिभ जोनाथन हेल्मले पक्राउ पुर्जीमा बालकको दाहिने हातको चार औंला र बुढीऔंला हराइरहेको लेखेका छन् । उनको औंलाका हड्डीहरू देखिन्थे। बच्चालाई अस्पताल लग्दा उनको शरीरको तापक्रम निकै घटेको थियो । उनलाई रगत चढाउनु परेको थियो । बच्चा जीवित छन् ।
न्यूयोर्क पोस्टको रिपोर्टका अनुसार बच्चाको घर फोहोर र मुसाको मलले भरिएको थियो। उनका बुबाले मार्चदेखि मुसाका कारण समस्यामा परेको र यसका लागि उपाय पनि गरिएको बताए । तर प्रहरी अधिकारीहरुले यस घरको बच्चालाई मुसाले खाएको यो पहिलो पटक नभई सेप्टेम्बरमा घरका अन्य बालबालिकालाई पनि टोकेको थाहा पाएका छन् ।
एउटै घरका दुई बालबालिकाले सेप्टेम्बर १ मा मुसाले खुट्टाको औंला खाएको आफ्नो विद्यालयका शिक्षकलाई बताए । त्यतिबेला उनीहरू सुतिरहेका थिए । त्यसपछि बाल सेवा विभागका अधिकारीहरु उनीहरुको घरमा आए ।
त्यसपछि बच्चाकी आमाले घरमा केही मुसा रहेको तर तिनीहरूले बालबालिकालाई कुनै हानि नगरेको बताइन् । अधिकारीहरूले परिवारलाई सुरक्षा योजना दिए।
आफूहरू फेरि आउने पनि भनेका थिए । यी मानिसहरू १४ सेप्टेम्बरमा आउने थिए, अर्थात् बच्चालाई मुसाले टोकेको एक दिन अघि। अहिले सबै बालबालिका बाल सेवा विभागको रेखदेखमा छन् ।