काठमाडौं, असोज ७- क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ ।
न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा रहेको फाँटको गोला कुनै पनि न्यायाधीशले नतानेपछि मुद्दा स्थगितमा परेको हो । यसअघि काठमाडौँ जिल्ला अदालतमा सुनुवाइका लागि न्यायाधीश अभाव भए पछि सोमबार स्थगित भएको मुद्दा आजका लागि पेसीमा राखिएको थियो ।
त्यसअघि भदौ २१ गतेको सुनुवाइमा न्यायाधीश सकुन्तला कार्कीको इजलासले फेरि पीडितको जन्मदर्ता मगाउन आदेश दिएको थियो । त्यस दिन न्यायाधीश कार्कीले मुद्दा हेर्दाहेर्दैमा राख्ने प्रस्ताव गरेकी थिइन् ।
त्यसपछि सन्दीपका अधिवक्ता सरोज घिमिरेले भने बसाइँ सर्नुअघिको नगरपालिकाको डकुमेन्टमा पीडितको यकिन जन्ममिति हुन सक्ने भन्दै त्यो कागजात मगाउन माग गरेका थिए । अधिवक्ता घिमिरेको आग्रहपछि न्यायाधीश कार्कीको इजलासले बसाइँ सरी जानुअघिको पालिकाबाट फेरि पीडितको जन्ममितिको कागजात मगाउने आदेश दिएको थियो ।
त्यसअघि पनि अदालतले बसाइ सरी गएको पालिकाबाट जन्ममिति भएको कागजात मागेको थियो । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरुद्ध गत वर्ष २१ भदौमा एक नाबालिग किशोरी जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।