
काठमाडौं, साउन १०- काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले आफ्नो कार्यकालमा जनता र जनचाहानाअनुसार काम गर्ने बताएका छन् ।
सामुदायिक प्रहरी सेवा केन्द्र र सामुदायिक सेवा केन्द्र जोरपाटीको आयोजनामा प्रहरी प्रभाग गोकर्णको भवन निर्माण सम्पन्न कार्यक्रम तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
‘पूर्ण रुपमा मेरो कार्यकालमा जनता र राष्ट्रको पक्षमा राम्रा कामहरु गर्नेछु । कार्यकाल अवधि पनि छोटिदै गएको छ । तर यो अवधिभर प्रतक्ष्य जनताका समस्या र सरोकार राख्ने बिषयमा केन्द्रित हुनेछु ।’ सम्बोधनको क्रममा भने ।
भूकम्पले क्षति पुर्याएको प्रहरी प्रभाग गोकर्णको भवन नगरपालिकाको आर्थिक र स्थानीयबासीको भौतिक तथा नैतिक सहयोगमा पुनर्निर्माण गरिएको हो ।
कार्यक्रममा प्रहरी प्रभागमा कार्यरत प्रहरी बरिष्ठ नायव निरीक्षक शोभित अर्यालको बिदाई गरिएको छ । मेयर रिसालले प्रहरी निरीक्षक अर्यालले त्यहाँ कार्यरत रहँदा व्यावसायीक दक्षताको मुल्याङ्कनस्वरुप सम्मान गर्दैै बिदाई गरिएको बताए । मेयर रिसालले नगरपालिकाको शान्ति सुरक्षामा पुर्याएको योगदान प्रशंसनीय भएको बताउँदै अपराध नियन्त्रणमा अर्यालले देखाएको कार्यकुशलताको चर्चा समेत गरे ।
रिसालले निश्पक्ष र विवादरहित ढङ्गले नगरवासीलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी निरीक्षक अर्याल सफल भएको विचार व्यक्त गरे ।
प्रहरी बरिष्ठ नायव निरीक्षक अर्यालले यस किसिमको सम्मानपूर्वक विदाईले आफ्नो कार्यदक्षता र कार्य सम्पादनमा प्रेरणादायी भूमिका खेलेको बताए । प्रहरीले मात्र समाजमा शान्ति सुव्यवस्था कायम राख्न नसक्ने भएकाले यस कार्यमा नागरिक समाजको भूमिका महत्वपूर्ण रहने उनले बताए ।

















