
काठमाडौं, साउन १- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न भोलि(मंगलबार)देखि घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । वडा कार्यालयसम्म पुग्न समस्या हुने अशक्त, अपाङ्ग र वृद्धवृद्धालाई लक्षित गरी ९ वटै वडाका बस्तीमा शिविर चलाइएको नगरप्रमुख उपेन्द्र कार्कीले जानकारी दिए ।
शारीरिक रूपमा अशक्त तथा वृद्धवृद्धालाई वडा कार्यालयसम्म धाउनुको साटो घर नजिकै राखिएको घुम्ती शिविरबाट सेवा लिन सहज होस् भन्ने उद्देश्यले प्रत्येक वडामा कर्मचारी खटाएर सामाजिक सुरक्षा भत्ता नवीकरणको काम गर्ने नगरप्रमुख कार्कीले बताए ।
घुम्ती शिविर अभियानले वडा कार्यालयमा भीड कम हुने नगरपालिका कार्यालयले जनाएको छ ।
नवीकरणका लागि प्रत्येक आर्थिक बर्षको साउन १ गतेदेखि भदौ मसान्तसम्म निवेदन दिनुपर्ने सामाजिक सुरक्षा तथा पंजीकरण शाखाका प्रमुख रमेश कुमार पुडासैनीद्धारा जारी सुचनामा उल्लेख छ । भदौ मसान्तसम्म नवीकरण निवेदन पेस नभए सामाजिक सुरक्षा भत्ता प्राप्त नहुने बताइएको छ ।
सम्बन्धित वडाका लाभग्राहीहरुले आफुलाई पायक पर्ने सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर वा वडा कार्यालयमा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ ।




















