काठमाडौं, असार २७- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने भएको छ ।
उनको बुधबार बिहान ८ः३३ बजे उपचारका क्रममा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।
गम्भीर प्रकारको नशासम्बन्धीबाट गुज्रिइरहेकी उनको बिहान एक्कासी शरीरमा अक्सिजनको मात्रा घटेको थियो ।
बिहान ८ बजे अस्पताल पुर्याएकी उनको निधन भएको अस्पतालले जानकारी दिएको हो ।
उनको पार्थिक शरीर बिहान ११ बजेदेखि पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा दिउँसो अन्त्येष्टि गरिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
सीता २०५२ सालभन्दा अगाडिदेखि नै राजनीतिमा सक्रिय थिइन् । तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको सशस्त्र संघर्षमा भूमिगत भएकी दाहाल खुला राजनीतिमा पनि पार्टी काममा सक्रिय थिइन् ।
२०७४ साल मंसिरमा छोरा प्रकाश दाहालको निधन भएपश्चात् उनलाई रोगले गाँज्दै लगेको थियो । पछिल्लो समय उनी ओछ्यान नै परेकी थिइन् ।