Skip

Hamro Sanchar

राष्ट्रपति पौडेलको उपचार खर्च बेहोर्ने सरकारको निर्णय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, १९ गते


काठमाडौं, असार १९- राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । १२ असारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको हो ।

राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमणभत्ता लगायतमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ बेहोर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयमा १५ गते प्राप्त भएको र त्यसअनुसार रकम निकासाका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको परराष्ट्रले जनाएको छ ।

यसअघि राष्ट्रपति आफैंले उपचार खर्च बेहोर्न चाहेको भनी उनको कार्यालयबाट सूचना सार्वजनिक भएको थियो । स्वदेशमै हुन सक्ने सामान्य उपचारका लागि विदेश गएको भनी आलोचित पाैडेलका तर्फबाट कार्यालयले वक्तव्य जारी गर्दै आलोचना मत्थर गरेको थियो । अहिले भने सरकारले नै उक्त रकम तिर्ने निर्णय भएको छ ।

यससँगै उपचारका लागि दिल्ली लैजाँदा भएको एयर एम्बुलेन्स र फर्किँदाको नेपाल वायु सेवा निगमको भाडासहित ५५ लाख रूपैया भुक्तानीका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो ।

राष्ट्रपति पौडेलाई २०८० वैशाख ६ गते श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्सबाट भारत लगिएको थियो । भारतबाट वैशाख १७ मा फर्किदा राष्ट्रपतिसहितको टोली नेपाल वायु सेवा निगमको नियमित उडानबाट आएको थियो ।

अर्थ मन्त्रालयले असार ११ गते स्वास्थ्य उपचार लगायतको खर्चका लागि प्रचलित कानुन तथा स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी ५५ लाख ४ हजार ६ सय ५४ को सहमति दिएको थियो । सोही सहमति अनुसार परराष्ट्रले राष्ट्रपतिको उपचारका लागि भएको यथार्थ खर्चको विल भरपाई बमोजिमको रकम भुक्तानी दिने प्रयोजनका लागि निकासा गरिदिन अर्थलाई नै पत्राचार गरेको हो ।


प्रतिकृया दिनुहोस्