
काठमाडौँ, जेठ २४- ठमेलमा प्रेमीले कुटपिट गरी आफ्नै प्रेमिकाको हत्या गरेका छन् । राजधानीको ठमेल क्षेत्रको भगवती बहालमा डेरा गरी बस्दै आएकी जेनिशा तामाङको उनकै प्रेमीले हत्या गरेका हुन् ।
चितवनको राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशाको उनका प्रेमी काभ्रेको धुलिखेल नगरपालिका-१० घर भएका ३० वर्षीय अमर रञ्जितकारले हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवम् प्रवक्ता सीताराम रिजालले जानकारी दिए ।
उनका अनुसार जेनिशा र अमर ६ महिनायता लिभिङ टुगेदरमा थिए । उनीहरु भगवती बहालको एक घरमा डेरा लिएर सँगै बस्ने गरेका थिए ।
उनीहरुबीच मंगलबार दिउँसो आपसी विवादका क्रममा भएको झगडाले उग्र रुप लिएको थियो । त्यसपछि मादक पदार्थ पिएका अमरले जेनिशामाथि कुटपिट गरेका थिए ।
कुटपिटपछि मंगलबार दिउँसो ३ बजे जेनिशालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । तर मंगलबार राति नै उनको अस्पतालमा उपचारका क्रममा ज्यान गएको रिजालले बताए ।
मापसे गरेको अवस्थामा घटनालगत्तै अमरलाई पक्राउ गरिसकिएको एसपी रिजालले बताए । उनका अनुसार विवादका क्रममा जेनिशालाई कुटपिट गरेको बयान दिएका छन् । अहिले अमरलाई सोह्रखुट्टे प्रहरी बृत्तको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको रिजालले जानकारी दिए ।


















