दोलखा, जेठ १४- मागेर गुजारा गर्दै आएका दोलखाका एक बृद्धले चर्णावतीको जेष्ठ नागरिक भवन संचालनका लागि आर्थिक सहयोग गरेका छन् ।
मेलुङ गाउँपालिका-१ पवटी भंगेरी घर भएका ७८ बर्षिय ललित बहादुर खड्काले सामाजिक सुरक्षा भत्ताबापत पाएको रकम १२ हजारमध्ये १० हजार १० रुपियाँ जेष्ठ नागरिक सेवा केन्द्र भवन संचालनका लागि दान गरेका हुन् ।
जिल्लाको शैलुङ गाउँपालिका वडा नम्बर-७ स्थित चर्णावतीमा सुविधा सम्पन्न जेष्ठ नागरिक सेवा भवन सञ्चालन लागि रकम जुटाउन महायज्ञ लगाइएको छ । चर्णावतीस्थित त्रिवेणीधाममा यही जेठ ७ गतेबाट १५ गतेसम्म देवी भागवत् महापूराण ज्ञान महायज्ञको आयोजना गरिएको छ । सोहि महायज्ञमा पुगेर खड्काले उक्त सहयोग गरेका हुन् ।
खड्काले आफ्ना स्वर्गीय पिता पुष्प बहादुर र माता पदम कुमारी खड्काको सम्झनामा उक्त सहयोग गरेका बताएका छन् ।
बृद्ध खड्का धेरैजसो सदरमुकाम चरिकोट आसपासका क्षेत्रमा बस्छन् । उनलाई स्थानीयले खड्का बजे भनेर चिन्छन् । कुनै समयका सम्पन्न परिवारका उनि २०४६ सालदेखि मागेर गुजारा चलाउदै आएका थिए ।
दुइ पटक बिबाह गरेका उनि दुवै श्रीमतीले छोडेर हिँडेपछि विछिप्त बनेर घर-परिवार त्यागेर माग्दै हिड्ने गरेका थिए ।
चर्णावती त्रिवेणी धामलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न र जेष्ठ नागरिक सेवा भवनलाई मर्यादित र व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि चर्णावती त्रिवेणी धाममा महायज्ञको आयोजना गरिएको चर्णावती त्रिवेणी विकास तथा प्रबर्द्धन समितिले जनाएको छ ।
चर्नावतीमा संघीय सरकारको करिब ३ करोड, प्रदेश सरकारको २५ लाख र गाउँपालिकाको करिब १० लाख लगानीमा निर्माण भएको जेष्ठ नागरिक भवन सञ्चालनको तयारीमा छ । १८ कोठा रहेको जेष्ठ नागरिक भवनमा एउटा भान्साकोठा, ३ वटा हल, ५ वटा शौचालय रहेको छ ।
जेष्ठ नागरिक सेवा भवनमा जिल्लाभरका जेष्ठ नागरिक तथा असहाय जेष्ठ नागरिकलाई राखिने गरी सेवा सुबिधा थप गर्ने तयारी गरिएको चर्णावती त्रिवेणी विकास तथा प्रबद्र्धन संघका अध्यक्ष गुणबहादुर बुढाथोकीले जानकारी दिए ।
भवनमा जेष्ठ नागरिक र जेष्ठ असहाय नागरिक गरी ४० जना राख्ने गरी तयारी गरिएको छ ।
महायज्ञबाट करिब १ करोड संकलन हुने लक्ष्य राखिएको छ ।