Hamro Sanchar

निगुरो टिप्न गएका दम्पतीको नारायणी नदीमा डुबेर निधन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, १ गते


नवलपरासी, जेठ १- नारायणी नदीपारि चितवन राष्ट्रिय निकुञ्जमा निगुरो टिप्न गएका ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती ४५ वर्षीया बगरी बोटेको नारायणी नदीमा डुबेर निधन भएको छ ।

नवलपुरको मध्यविन्दु– २ कोल्हुवानिवासी बोटेदम्पतीको नारायणी नदीमा डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए ।

मध्यविन्दु– २ नन्दपुरबाट नारायणी निकुञ्जपारि आइतबार साँझ निगुरो टिप्न गएका बोटेदम्पती नदीमा डुबेर बेपत्ता भएका थिए । श्रीमती बगरी बोटेको शव साँझ नै प्रहरीको टोलीले मृत अवस्थामा उद्धार गरेको थियो भने श्रीमान् सोमबहादुर बोटेको शव राति सवा ८ बजे फेला परेको थियो ।

मृतक दम्पतीको शव पोस्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको छ । जीविकोपार्जनका लागि निकुञ्जमा निगुरो टिप्न, नारायणी नदीमा माछा मार्न जाने यहाँका बोटे, माझी, मुसहर, थारूलगायतका समुदायका व्यक्ति बर्सेनि ज्यान गुमाउन बाध्य छन् ।


प्रतिकृया दिनुहोस्