Skip

Hamro Sanchar

प्रधानमन्त्रीलाई सांसद गौतमले भनिन् : मूलपानी क्रिकेट मैदान तपाईंकै कार्यकालमा सम्पन्‍न हुनुपर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, ४ गते


काठमाडौं, चैत ४- काठमाडौं क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य सोबिता गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष मूलपानी क्रिकेट मैदान निर्माण सम्पन्न गर्न आग्रह गरेकी छन् । काठमाडौं क्षेत्र नम्बर २ को विकास निर्माण र मूलपानी क्रिकेट मैदान निर्माण सम्पन्न गर्ने विषयमा छलफल गर्न सांसद गौतम शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन् ।

प्रधानमन्त्री प्रचण्डले मूलपानी क्रिकेट मैदानको निर्माण कार्य सम्पन्न गर्नका लागि भूमिका खेल्ने प्रतिबद्धता जनाएको सांसद गौतमले बताइन् ।

‘मूलपानी क्रिकेट मैदान निर्माण सम्पन्न गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको छ । मूलपानी क्रिकेट स्टेडियमबारे जहिल्यै कुरा हुने तर निर्माण सम्पन्न नहुने, सरकारको आयोजनामा रहने तर कहिल्यै सम्पन्न नहुने भइरहेको थियो,’ प्रधानमन्त्रीसँग भएको छलफलबारे सांसद गौतमले भनिन्, ‘यसको निर्माणलाई लिएर पहिले केही समस्याहरू थिए तर अहिले समाधान भइराखेको छ । त्यो कारणले गर्दा यो पटक तपाईंको प्रधानमन्त्री कालमा सम्पन्न हुनुपर्छ भनेको छु ।’

प्रधानमन्त्री दाहालले क्रिकेट मैदानको निर्माणको अवस्था र त्यसलाई सम्पन्न गर्ने विषयमा चासो राख्ने सकरात्मक जवाफ दिएको सांसद गौतमले उल्लेख गरिन् ।

सांसद गौतमले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को विकास निर्माणका योजना सम्पन्न गर्नेबारे पनि प्रधानमन्त्री दाहालसँग कुरा राखेकी थिइन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने करिडोरको सडक निर्माण सम्पन्न र कोटेश्वरको ट्राफिक जाम अन्त्य गर्ने लगायतका योजनाबारे प्रधानमन्त्रीसँग छलफल भएको उनले बताइन् ।


प्रतिकृया दिनुहोस्