काठमाडौं, फागनु ३०- मिटरब्याजी र लघुवित्त वित्तीय संस्थाको ऋणको मारमा परेकाहरु सरकारले समस्या समाधानका लागि चासो नदिएको भन्दै आक्रोश पोख्न मंगलबार राजधानीको माइतीघरमा जम्मा भए ।
जहाँ दूध खाँदै गरेका काखे बालक च्यापेर रातभर बसयात्रा गरेर अनिँदै आइपुग्नेहरु पनि थिए । घरबाटै खाना र खाजा बोकेर आन्दोलनमा आएका उनीहरू बिहान १० बजेदेखि राजधानीको टेकुदेखि र्यालीमा सहभागी भए र दिउँसो करिब १ बजे माइतीघर मण्डला आइपुगेका थिए ।
मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति र लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समितिको आयोजनामा गरिएको कार्यक्रममा सहभागीहरु देशका विभिन्न जिल्लाका पीडित सर्वसाधारण नै थिए । उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि र नागरिक समाजका अगुवाहरू समेत ऐक्यबद्धता जनाउन माइतीघर आएका थिए । तर जब र्याली माइतीघर पुगेर सभामा परिवर्तन हुनै लागेको थियो आयोजकका बीचमा विवाद देखियो ।
विवादको मूल कारण बनेका थिए, व्यापारी दुर्गा प्रसाई । ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ भनेर लघुवित्त र बैंकका कर्मचारीलाई कालोमोसो दल्ने दस्ता गठन गरेर हिँडिरहेका प्रसाई कार्यक्रममा आउने र सम्बोधन गर्ने पूर्वनिर्धारित योजना थिएन ।
लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समिति गठन गरेर अध्यक्ष बनेका मणिराम ज्ञवालीले व्यक्तिगत रुपमा प्रसाईलाई सम्बोधन गर्न बोलाएका थिए । राजतन्त्र र हिन्दु धर्मको पक्षमा नाराबाजी गर्दै उत्तेजित भाषणबाजी गरिरहेका प्रसाईसँग नागरिक समाजका अगुवाहरू पनि एउटै मञ्चबाट सँगै बोल्न मानेनन् ।
मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले कार्यक्रममा दुर्गा प्रसाईले बोल्ने विषयमा आफूहरुलाई जानकारी नभएको बताए ।
पूर्व जानकारी नदिइकनै र संगठनबाट निर्णय नगरिकनै ज्ञवालीले प्रसाईलाई भाषण गर्न बोलाएपछि लघुवित्त पीडितहरूको केन्द्रीय समितिका अधिकांश पदाधिकारी असन्तुष्ट मात्रै भएनन्, कार्यक्रम छाडेर घरतिर हिँडे । त्यस्तै मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिका सहभागी समेत मञ्चमा बोल्न गएनन् ।
प्रसाईले भाषण गर्न थालेपछि विभिन्न जिल्लाबाट आएका पीडित महिलाहरू आक्रोशित बनेका थिए । मधेश प्रदेशका केही महिलाहरू प्रसाईले भाषण गरिरहेको माइक खोस्न समेत अघि सरेका थिए । तर प्रहरीले छेकेपछि उनीहरूले माइक खोस्न पाएनन् ।
लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समितिको गण्डगी प्रदेश संयोजक नर्मदा साहले दुर्गा प्रसाईले मञ्चमा माइक समातेर भाषण गर्न थालेको देखेपछि आफूहरू अच्चमित भएको बताइन् ।
‘संगठनको केन्द्रीय समिति बनाइएको छ । हामी पीडितहरू नै यसमा बसेका छौँ । तर प्रसाई कार्यक्रममा आउने विषयमा हाम्रो केन्द्रीय समिति र अन्य कुनै पनि कार्य समितिमा यस विषयमा छलफल भएको थिएन,’ साहले भनिन् ।
दुर्गा प्रसाईले बोलेपछि देशभरबाट आएका कसैले पनि कार्यक्रममा नबोलेको साहले बताइन् । ‘हामी आफैं पीडामा भएर आएको हुनाले कार्यक्रम छाडेर हिँड्न पनि सकेनौँ । हामीलाई त्यो त सपना हो कि विपना भनेजस्तो भयो’ उनले भनिन् ।
काठमाडौँमा प्रधानमन्त्रीलगायत सरकार अधिकारीहरूसँग आफ्ना मागबारे कुरा राख्ने योजना रहे पनि धेरै पीडितहरू असन्तुष्ट भएर घर फर्किएको साहको भनाइ छ । कार्यक्रमबारे विवाद भएपछि लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिका अध्यक्ष ज्ञवालीले बैठकमा छलफल गर्ने आश्वासन दिएका छन् ।
प्रसाईको उत्तेजित भाषण
पीडित र आयोजकको इच्छा विपरीत सम्बोधन गर्न पुगेका प्रसाई सबै उभिरहेको र्याली अगाडि कुर्सीमा गजधम्म परेर बसिरहेका थिए । उनी पुग्नुअघि वक्ताहरूलाई बस्ने व्यवस्था थिएन । प्रसाईं कुर्सीमा बसेपछि र्यालीमा सहभागी महिलाहरूले असन्तुष्टी व्यक्त गर्दै होहल्ला समेत गरे । तर प्रसाईले वास्ता गरेनन्, उनलाई लघुवित्त पीडिहरूका अध्यक्ष बनेका ज्ञवालीले स्वागत गरेर कुराकानी गरे ।
प्रसाई जब भाषण गर्न थाले उनले पुरानै शैलीमा बैंक कब्जा गर्न र कर्मचारीलाई कुट्न उक्साए । बैंकको ब्याज मिनाह नगरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कडा टिप्पणी गरेका उनले चुनौती दिए, ‘यहाँ छन् सर्वहारा हेर्न आउनुहोस् ।’
प्रसाईले आफूलाई सर्वहारा वर्गको मुक्तिदाता भएको दाबी गर्न समेत छुटाएनन् । प्रसाई तिनै हुन् जो करोड रुपैयाँ मूल्य पर्ने गाडी चढ्ने र वरीपरी आधा दर्जन निजी सुरक्षा गार्ड राखेर हिँड्छन् ।
२० लाख रुपैयाँसम्मको ऋण मिनाह हुनुपर्ने हठ गरिरहेका प्रसाईले ‘कालोमोसो’ दस्ता पनि बनाएका छन् । ब्याज, किस्ता उठाउन आउने कर्मचारीलाई तह लगाउन भनेर यो दस्ता बनाएका प्रसाई ऋण तिर्न नसकिरहेका सर्वसाधारणलाई भड्काइरहेका छन् । कुटपीट र हिंसा भ्डकाएर ऋण मिनाह हुन्छ भन्दै भ्रमित बनाइरहेका प्रसाईको ‘कालोमोसो’ दस्ताका संयोजक शम्भु थापा २४ फागुनमा चितवनबाट पक्राउ परेका छन् ।
‘लघुवित्तका पैसा र ब्याज तिर्न बन्द गर्नुहोस् । ब्याज उठाउन आए भने कालोमोसो दलेर लौरो लगाएर लखेट्नुहोस्’, माइतीघरमा प्रसाईले पहिलेदेखि नै गरिरहेको अराजक भाषण दोहोर्याए ।
६ महिनाको बच्चा काखमा च्यापेर प्रसाईको भड्काउ भाषण सुनिरहेकी सप्तरीकी सविता चौधरीले, ‘यस्तो गर्यो भने त मारिहाल्छन् नि !’ भन्दै प्रसाईप्रति असन्तुष्टी जनाइन् ।
सडक किनारमा १ वर्षको बच्चा काखमा राखेर प्रसाईको भाषण सुनिरहेकी सिराहकी रामकुमारी सदालाई पनि प्रसाईको कुरा चित्त बुझेन । ‘सरकारी मान्छेलाई मारपिट गरे हामीलाई जेल हाल्छ ।’
छिमेक, नेशनल लघुवित्तबाट ऋण लिएको बताउने उनलाई सरकारले ब्याज कम गरिदेओस् र साँवा तिर्न अलि समय देओस् भन्ने लागेको छ । ‘साँवा भन्दा बढी ब्याज तिरिसकेँ,’ उनी भन्छिन्, ‘ब्याज कम भयो भने त तिरिहाल्छु ।’
मिटर ब्याज र लघुवित्तको ऋणले थला परेका सयौं मान्छेलाई बैंक कब्जा गर्न उक्साए प्रसाईले । ‘अब हामी खुल्लम खुल्ला लड्छौँ । हामी अब बैंक कब्जा गर्छौँ । तपाईहरू अगाडि बढ्नुहोस्, म तपाईको पछाडि छु’, प्रसाईले पीडितलाई भड्काउन खोजे ।