Hamro Sanchar

आईसीसी क्रिकेट विश्वकप लिग टु – नेपाल र यूएई भिड्दै, सन्दीप पनि खेल्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, १८ गते


Advertisement

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईमा भइरहेको शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ । खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बिहान ११स्४५ बजे सुरु हुनेछ ।

नेपालले लिग टु मा लगातार पाँच खेल जित्दै कीर्तिमान बनाएर उच्च लयमा छ । शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको थियो । यूएई भने पपुवा न्य गिनीसँग १३१ रनको फराकिलो रन अन्तरले पराजित गरेको थियो । त्यसअघि नामिबियाविरुद्धको दुई खेलमा यूएईले एक खेल मात्र जितेको थियो ।

सिधा हेर्दा अहिले नेपालले लगातार पाँच खेल जितेर लयमा छ । यूएई भने पछिल्ला खेलहरुमा संघर्ष गरिरहेको छ । लिग टु को पछिल्ला १० खेलमा यूएईले ६ खेल हारेको छ । नेपाल आफ्नो लयलाई कायम राख्दै यूएईविरुद्ध खेल जित्ने लक्ष्यमा हुनेछ । उता यूएई पुनरागमन गर्ने लक्ष्यमा हुनेछ ।

लिग टु को शीर्ष तीनमा पुग्नै आगामी जुनमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने लक्ष्यमा रहेको नेपाल र यूएई दुवैलाई आजको खेल उत्तिकै महत्वपूर्ण छ । दुवैले समान ७ खेल खेल्न बाँकी छ । हाल तेस्रो स्थानमा रहेको नामिबिया जसको ३९ अंक छ उसलाई पछि पार्दै तेस्रो स्थानमा रहन नेपाल र यूएईले बाँकी ७ मध्ये ६ खेल जित्नैपर्ने अवस्था छ ।

त्यसैले आजको खेल जित्दै ओडीआई मान्यता जोगाउने र शीर्ष तीनको यात्रालाई कायम राख्ने लक्ष्यमा नेपाल छ नेपालले लिग टु को शीर्ष पाँचमा रहेर ओडीआई मान्यता जोगाउन ७ मध्ये ४ खेल जित्नैपर्नेछ । नेपालले लिग टु मा दोस्रो पटक यूएईसँग खेल्न लागेको छ । लिग टु मा नेपालले यसअघि यूएईलाई हराएको छैन ।

गत मार्चमा यूएईमै भएको लिग टु को दुवै खेलमा नेपाल पराजित भएको थियो । कम लक्ष्य पछ्याउँदा पनि नेपाल यूएईविरुद्ध पहिलो खेलमा ४८ रन र दोस्रो खेलमा ९९ रनले पराजित भएको थियो । नेपालले यूएईसँग पछिल्लो पटक घरेलु मैदान कीर्तिपुरमै तीन खेलको ओडीआई शृङ्खला खेल्दै २-१ ले जितेको थियो ।

पहिलो खेलमा पराजित भए पनि नेपालले पुनरागमन गर्दै त्यसपछिका दुई खेल लगातार जितेर शृङ्खला कब्जा गरेको थियो । पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो । तर त्यसपछि नेपालले दोस्रो खेल ३ विकेट र तेस्रो खेल ६ विकेटले जितेको थियो । समग्रमा नेपालले यूएईसँग ९ खेल खेल्दा ४ खेल जितेको छ भने ५ खेलमा पराजित भएको छ ।

मोन्टी देसाइको आगमनपछि हयाप्पी ड्रेसिङ रुम मन्त्रसहित आत्मविश्वासी बनेको नेपाली टिमको ब्याटिङ लय अहिले राम्रो देखिएको छ । आवश्यक परेको बेला जुनै खेलाडीले पनि जिम्मेवारी लिँदै प्रदर्शन गरिरहेका छन् । अघिल्लो खेलमा पपुवा न्यु गिनीविरुद्ध कुशल भुर्तेलले अर्धशतक बनाएका थिए । अर्धशतकबाट चुके पनि आसिफ शेखले ४४ रन जोडेका थिए ।

यस्तै बलिङमा गुल्शन झाले करियरकै उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिएका थिए । लेफ्ट आर्म फास्ट बलर प्रतिश जिसीले त्यही खेलबाट नेपालको सिनियर टिममा डेब्यु गरे । चार फास्टर खेलाएको नेपालका लागि सोमपाल कामी र करण केसीले नयाँ बलमा राम्रो बलिङ गरेका थिए । यस्तै टिममा पुनरागमन गरेका आरिफ शेखले पनि राम्रो प्रदर्शन गरे ।

सर्वोच्च अदलातले विदेश जान अनुमति दिएपछि स्पीनर सन्दीप लामिछाने पनि टिममा फर्किएका छन् । उनी बुधबारै यूएई गइसकेका छन् । पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका श्याम ढकालको घाइते भएकोले उनकैको स्थानमा सन्दीपलाई राखिएको छ । जसले गर्दा नेपालको स्पीन डिपार्टमा फाइदा पुग्नेछ । केही समयअघि घरेलु मैदानमा भएको शृखंलामा सन्दीपले चार खेलमा १३ विकेट लिएका थिए । सन्दीपले पहिलो रोजाइमा खेलेमा नेपालले तीन फास्टर बलर खेलाउनेछ । पहिलो खेलमा पपुवा न्यु गिनीसँगको लय कायम राख्दै यूएईविरुद्ध २ अंक जोड्ने लक्ष्यमा नेपाल छ ।


प्रतिकृया दिनुहोस्