Hamro Sanchar

प्रचण्ड र प्रकाशमानबीच भेट : प्रचण्डले दिए यस्तो चेतावनी

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ८ गते


Advertisement

काठमाडौं, पुस ८- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नयाँ सरकार गठनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गरेका छन् ।

आज बिहान ८ बजे खुमलटारस्थित निवासमा पुगेर सिंहले प्रचण्डसँग कुराकानी गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पक्षमा प्रचण्डसँग छलफल गर्न सिंहलाई खुमटार पठाएका हुन् ।

देउवा समेत विभिन्न दूतमार्फत् प्रचण्डलाई मनाउन खोजिरहेका छन् भने प्रचण्ड समेत कुनै पनि हालतमा देउवालाई गलाउन लागिपरेका छन् । सिंहले प्रचण्डलाई पहिलो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बनाउनुपर्ने बताएका थिए ।

कांग्रेस नेता सिंहले प्रचण्डसँग पार्टी सभापति देउवालाई प्रधानमन्त्री बनाएर अन्य पद बाँडफाड गरौंला भनेका थिए । तर, प्रचण्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति आफ्नो पक्षमा रहेको भन्दै पहिलो चरणमा आफू प्रधानमन्त्री बन्ने अडान राखेका छन् ।

प्रचण्डको जवाफ उदृत गर्दै स्रोतले भन्यो,‘एमालेसँग समेत हाम्रो छलफल भइरहेको तपाईंहरुलाई राम्रोसँग थाहा होला । देउवाजी अहिले पनि प्रधानमन्त्री हुनुहुन्छ । अहिले म बन्छु दुई वर्षपछि फेरि देउवाजी । ’

प्रचण्डले यही गठबन्धनबाट आफू प्रधानमन्त्री हुन चाहेको, त्यसो नभए एमालेसँग समेत छलफल भइरहेको जवाफ सिंहलाई दिएको स्रोतले बताएको छ । खुमलटार स्रोतका अनुसार, प्रचण्डले पहिलो चरणमा वर्तमान सत्ता गठबन्धनबाट आफू प्रधानमन्त्री नबने गठबन्धनमा संकट आउन सक्ने तर्फ समेत कांग्रस नेता सिंहलाई स्पष्ट संकेत गरेको स्रोतले बताएको छ ।

प्रचण्डसँग कुराकानी गरेलगत्तै सिंह बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग छलफल गरेका छन्। प्रचण्डसँग भएका कुराकानीबारे सिंहले देउवालाई ब्रिफिङ गरेको उनको सचिवालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्