Hamro Sanchar

तत्काल मन्त्री बन्दिनँ : विश्वप्रकाश शर्मा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ६ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको काम गर्नुपर्ने भएकाले आफू तत्काल मन्त्री नबन्ने बताएका छन् । कांग्रेस संसदीय दलको नेताको निर्वाचनपछि सञ्चारकर्मीहरूसँग बुधबार बिहान कुरा गर्दै महामन्त्री शर्माले नयाँ सरकारमा मन्त्री बन्नेतिर तत्काल आफू नलाग्ने बताएका हुन् ।

उनले पार्टी कार्यालयमा बसेर गर्नुपर्ने थुप्रै कामहरू रहेकाले पार्टीले महामन्त्री बनाएको वर्षदिन बित्दा नबित्दै पार्टीलाई सुसंगठित गर्ने धेरै कामहरू आफ्नो जिम्मामा रहेको बताए । महामन्त्री शर्माले सरकारमा जाने पार्टीका नेताहरूलाई घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताअनुसार काम गर्न आग्रह गर्ने कुरामा आफू लाग्ने पनि बताए ।

‘महामन्त्री भएको वर्ष दिन पुग्दै छ । अझै धेरै कुराहरू गर्न बाँकी नै छन् । मलाई यिनै साथीभाइहरूले एक वर्षअघि मात्रै पार्टीको महामन्त्री बनाउनुभएको हो । मेरो काँधमा कतिवटा कामहरू गर्न नसकिराखिएको, गर्न नभ्याइरहेको र कामहरूले मलाई पर्खिरहेको बेला छ । अनि विश्वप्रकाश शर्मा तुरुन्तै मन्त्री बन्नतिर लागेर हुन्छ रु यो उचित हुँदैन भनेर अहिले म मन्त्री बन्ने कुरामा छैन भनेको हो‚’ उनले भने‚ ‘अहिले सरकारमा जाने कुरामा साथीहरू जानुहुन्छ, जान चाहनेहरू साथीहरुलाई संयोजन गर्नु रामो हुनेछ । सरकारमा जाने साथीहरूलाई यो घोषणापत्र बोकेर काम गर्नुहोला है भनेर भन्नु राम्रो । तर‚ अहिले मैले पार्टीको कार्यालयमा बसेर कार्य गर्नुपर्छ । त्यसकारण मन्त्री बन्ने कुरामा तत्कालै विश्वप्रकाश शर्मा लाग्नु हुँदैन ।’

महामन्त्री शर्माले सरकारमा जाने सांसदहरूको संयोजनलगायत कामहरू अघि बढाउने कुरामा आफू लाग्ने बताए ।


प्रतिकृया दिनुहोस्