Hamro Sanchar

पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपालको सानदार जित

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ कात्तिक, ३० गते


Advertisement

काठमाडौं । घरेलु टोली नेपालले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालले पाकिस्तानलाई १-० गोल अन्तरले हराएको हो । दशरथ रंगशालामा ५० औं खेल खेलेको नेपाललाई जित दिलाउन अन्जन विष्टले निर्णायक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२ औं मिनेटमा अन्जनले गोल गरेका हुन् । अन्जनले सब्सिच्युड खेलाडी सुनिल बलको लामो पासमा उत्कृष्ट गोल गरे । नेपालको लागि अन्जनको यो ११ औं अन्तराष्ट्रिय गोल हो । अन्जन सर्वाधिक गोलकर्ता हरि खड्का र निराजन राइमाझी भन्दा दुई गोलले पछि रहेका छन् ।

रंगशालामा अन्जनले लगातार दोस्रो खेलमा गोल गरेका हुन् । अन्जनले गत असोजमा बंगलादेशविरुद्ध रंगशालामा ह्याट्रिक गरेका थिए । अन्जन खेलको प्लेयर अफ द म्याच समेत चुनिए ।

यो जितसँगै नेपालले दशरथ रंगशालामा ५० औं खेलको कोशेढुंगा समेत पूरा गरेको छ । नेपालले सन् १९८४ बाट दशरथ रंगशालामा आधिकारिक रुपमा पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो ।

सन् १९८४ मा आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुद अन्तर्गत सेप्टेम्बर १८ मा नेपालले दशरथ रंगशालामा पहिलो औपचारिक खेल खेलेको हो । जुन खेलमा नेपालले माल्दिभ्सलाई ४-० ले हराएको थियो ।

यस्तै नेपालले पाकिस्तानविरुद्ध पाँचौ जित निकाल्न सफल भएको छ । नेपालले पछिल्लो पटक पाकिस्तानसँग २०१८ मा खेलेको थियो । साफ च्याम्पियनसिप अन्तर्गत ढाकामा भएको खेलमा नेपाल २-१ ले पराजित भएको थियो ।

पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो । नेपालविरुद्धको खेलसँगै पाकिस्तान अन्तराष्ट्रिय फुटबलमा फर्किएको छ । त्यस्तै नेपालका मुख्य प्रशिक्षक प्रवेश कटुवालले आफ्नो डेब्यु खेलमै नेपाललाई जित दिलाएका छन् । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि प्रवेशलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।


प्रतिकृया दिनुहोस्