काठमाडौँ, असोज २६- नेपाली कांग्रेसले बागी उम्मेदवारलाई बुधबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन अल्टिमेटम दिएको छ । उम्मेदवारी फिर्ता लिन चाहाने उमेदवारले आज दिउँसो १ बजेसम्ममा फिर्ता लिन सक्ने निर्वाचन आयोगको कार्यतालिका छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धन दलका उम्मेदवारहरुलाई विजय गराउन निर्देशन दिएका हुन् । तोकिएको समयसीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थक पार्टीवाट स्वतः निष्कासित हुने पनि विज्ञप्तिमा जनाइएको छ ।
चितवन–१ र चितवन–३ मा कांग्रेसको बागी उम्मेदवारी परेको छ । चितवन १ मा कांग्रेस उम्मेदवार डा विश्वनाथ पौडेल विरुद्ध राजेन्द्र प्रसाद बुर्लाकोटीले बागी उम्मेदवारी दिएका छन् । चितवन ३ मा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका डा भोजराज अधिकारी विरुद्ध कांग्रेस केन्द्रिय सदस्य दिनेश कोइरालाले उम्मेदवारी दिएका छन् ।
दुवै बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहेका छैनन् । चितवन ३ मा यसअघि नै कांग्रेसबाट कारबाही भोगेका जगन्नाथ पौडेलले पनि उम्मेदवारी दिएका छन् । यसअघि मंगलबार दिउँसो गठबन्धनका ४ दलका शीर्ष नेताले संयुक्त विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका थिए ।