चितवन, भदौ ३०- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला चितवनमा माओवादीका जिल्ला र महानगर सहइन्चार्ज एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रका माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् चितवनका जिल्ला सहइन्चार्ज यम बहादुर परियार इन्द्रजित एमाले प्रवेश गरेका हुन् ।
लामो समय माओवादीको चितवन जिल्ला नेतृत्व गरेका परियार आज (विहिबार) पार्टी कार्यालयमा आयोजित कार्यक्रम मार्फत एमाले प्रवेश गरेका छन् । परियार एमाले र माओवादी एकीकरण भएपछि बनेको नेकपाको पनि चितवन जिल्ला संयोजक समेत भएका थिए । परियार पाँच पटक माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष तथा सेक्रेटरी भइसकेका नेता हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रका उनि एमाले प्रवेश गरेपछि प्रचण्डलाई समेत धक्का पुगेको छ । निर्वाचन नजिकिदै गरेको समयमा परियारको एमाले प्रवेशलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनिसँगै माओवादी केन्द्रका भरतपुर महानगर कमिटी सहइन्चार्ज युवा नेता अन्जन तिमिल्सिना पनि एमाले प्रवेश गरेका छन् । उनिहरुलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।
एमाले प्रवेश गर्दै परियारले आफू चौथो महाधिवेशनदेखि विभिन्न कालखण्डमा माओवादी जनयुद्धमा होमिएको भन्दै कुनै न कुनै रुपमा सधैं महत्वपूर्ण भूमिकामा रहेर काम गरेको बताए ।
पार्टी प्रवेश कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, केन्द्रिय सदस्य देवी ज्ञवाली, जेएन थपलिया,जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने लगायतको सहभागीता रहेको थियो ।