काठमाडौँ, भदौ १५- ललितपुर महानगरपालिकाले आजबाट कार्यालय अगाडिको पार्किङ शुल्क हटाएको छ । चर्को पार्किङ शुल्क लिएको भन्दै आलोचना बढेपछि महानगरको १७ औं कार्यपालिका बैठकले ललितपुर–३ पुल्चोकस्थित कार्यालयअघि सडक किनाराको पार्किङ शुल्क हटाउने निर्णय गरेको हो ।
यसअघि ललितपुर महानगर अगाडिको सडकमा वडाले सवारी पार्किङ गरेवापत पैसा लिँदै आएको थियो ।
त्यस्तै आजबाट कुमारीपाटी, पाटन हस्पिटल, महालक्ष्मी स्थान, एकान्तकुनाको यातायात अगाडि, कुपण्डोल हनुमानस्थान, जावलाखेल लगायतका क्षेत्रमा पार्किङ निःशुल्क गरेको महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए ।
त्यस्तै हाल महानगरले निषेधित क्षेत्रमा पार्किङ गरे स्थलगत कारवाही गर्ने, चोक(चोकमा ट्याक्सी पार्किङको व्यवस्था गर्ने लगायतका ट्राफिक व्यवस्थापनको कार्ययोजना पनि ल्याएको छ ।