काठमाडौं, भदौ १३- विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा छलफल भएको छ ।
आइतबार साँझ करिब अढाइ घन्टा आफूहरूबीच छलफल भएको उल्लेख गर्दै मिश्रले ट्वीट गरेका छन् ।
आगामी निर्वाचन, देशको राजनीति/भू-राजनीति, विदेशी चासो/हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकतालगायत विषयमा कुराकानी भएको मिश्रको भनाइ छ ।
ओलीको राजनीतिक यात्रा, जेल र गोलघरको पीडा, चुच्ने नक्सा पारितपूर्व भोगेका जटिलतालगायत विषयमा पनि कुरा भएको मिश्रले उल्लेख गरेका छन् ।
‘सबै विषयमा धाराप्रवाह बोल्न सक्ने उहाँले मलाई भन्नुभयो, तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केट बलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ । नआत्तिनु होला,’ मिश्रले भनेका छन् ।
साथै ओलीले मिश्रलाई एक मुठी सिक्का उपहार पनि दिएका छन् ।
‘चुच्चे नक्शासहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठी सिक्का अर्को कोठाबाट ल्याएर उपहार दिनुभयो, भेटका लागि आभार प्रकट गर्दै म निस्किएँ,’ मिश्रले उल्लेख गरेका छन् ।