ओखलढुंगा, भदौ ९- आउँदो मंसिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी ओखलढुंगाले सिफारिस भएका उम्मेदवारीहरुको नाम सार्वजनिक गरेको छ । आज (बिहीबार) पार्टी पुनः गठन भएको एक वर्ष पूरा भएको अवसरमा पत्रकार सम्मेलन गर्दै कमिटीले जिल्लाबाट सिफारिस भएका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको हो ।
कमिटीले सार्वजनिक गरे अनुसार प्रदेश सभा ‘क’ को लागि प्रत्यक्षतर्फ राजन खत्री र सञ्जीव गुरुङ सिफारिस भएका छन् भने समानुपातिक तर्फ तिलक लोहनी र शारदा निरौला छन् । त्यस्तै प्रदेश सभा ‘ख’ का लागि प्रत्यक्ष तर्फ कमल खड्का, यमचन्द्र कट्वाल र पुर्णकुमारी सुवेदी र समानुपातिक तर्फ अम्बीकाप्रसाद भट्टराई रहेका छन् ।
यसैगरी प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ नेत्रप्रसाद भट्टराई, छत्रबहादुर कार्की र मेखबहादुर खड्का र समानुपातिकतर्फ निर्मला श्रेष्ठ रहेको कमिटीले जनाएको छ । पत्रकार सम्मेलनमा जिल्ला ईन्चार्ज नेत्रप्रसाद भट्राईले पार्टी सचिवालय बैठकले निर्णय गरेको उम्मेदवार सिफारिस प्रक्रिया र मापदण्ड तथा जिल्ला कमाण्डको निर्णय अनुसार जिल्लामा उम्मेदवार छनौट गरिएको जानकारी दिए ।
उनले गठबन्धन दलले जिल्लामा बेवास्ता गरी सहमति नभएमा संघ र प्रदेश दुवै तहमा चुनावी प्रतिष्पर्धा गर्ने पार्टीले निर्णय गरेको बताए । माओवादी केन्द्र र नेकपा एस बिच पार्टी एकताको समेत केन्द्रीय तहमा लगभग सहमति भइसकेको उनको भनाइ थियो ।