काठमाडौं, साउन ११- नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले कांग्रेससँग बार्गेनिङ गर्न मात्रै वाम गठबन्धनको चर्चा चलाइएको दाबी गरेका छन् ।
आज नेपाल प्रेस युनियन पर्साले वीरगञ्जमा गरेको कार्यक्रममा नेता कोइरालाले सत्ता गठबन्धनमै रहेका दलले यस्तो अभ्यास गर्नु बार्गेनिङ मात्र भएको बताएका हुन् ।
सत्ता गठबन्धनका पाँच दलमध्ये कांग्रेस बाहेकका कम्युनिष्ट दलले वाम गठबन्धन गर्ने गृहकार्य गरिरहेका बेला कोइरालाको यस्तो धारणा आएको हो । हामी नै सबै हौं भन्ने भ्रममा गठबन्धनकै दलहरु लागेको भन्दै नेता कोइरालाले कांग्रेस सबैभन्दा ठुलो पार्टी भएको नबिर्सन चेतावनी दिए ।
संघ र प्रदेशको निर्वाचनमा नेपाली कांग्रेसलाई कम क्षति हुने गरी कसरी तालमेलमा जाने भनेर विभिन्न राजनीतिक दलहरुसँग छलफल भइरहेको कोइरालाले बताए ।
तालमेल गर्ने क्रममा ५ वर्ष नेपाली कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्ने ग्यारेन्टी हुनुपर्ने कोइरालाको भनाइ छ ।