Hamro Sanchar

दलित भएकै कारण घरबेटीबाट निकालिएकी सम्झनाले दर्ता गरिन् जाहेरी

प्रकाशित : २०७९ असार, ९ गते


Advertisement

भक्तपुर, असार ९- दलित भएकै कारण घरबेटीबाट जातीय भेदभावमा परेकी मुना दयाल भनिने सम्झना विश्वकर्माले घरबेटीविरुद्ध जाहेरी दर्ता गराएकी छन् । बुधबार जाहेरी लिन नमानेको जिल्ला प्रहरी परिसर भक्तपुरले बिहीबार मुनाले घरबेटीकी छोरी कविता रायमाझी, उनकी आमा र बाबुविरुद्ध दिएको जाहेरी दर्ता गराएको हो ।

प्रहरी निरीक्षक लोकबहादुर जिसीले मुलुकी फौजदारी कार्यविधि संहिता, ०७४ को दफा ४ को उपदफा (३) बमोजिम जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभावसम्बन्धी कसुर मुद्दा दर्ता भएको जानकारी दिए ।

बुधबार जाहेरी पत्र लिएर पुगेकी मुनालाई प्रहरीले मुद्दा दर्ता नगरी फर्काएको थियो । फौजदारी मुद्दा भएपनि प्रहरीले पीडकलाई बोलाएर छलफल गर्ने र मिलापत्र गराउने प्रयास गरेको थियो ।

प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्ने समाचार बाहिरिएपछि प्रहरीले बिहीबारै पीडितलाई बोलाएर मुद्दा दर्ता गरेको हो ।

छोराछोरी पढाउन ओखलढुंगादेखि काठमाडौं आएकी मुनालाई गत जेठ २५ गते घरको कोठामा कार्पेट ओछ्याएर खाटसमेत राखिसकेको अवस्थामा रायमाझी परिवारले दलित भन्ने थाहा पाएपछि आफ्नो घरमा बस्न नपाउने भन्दै निकालेका थिए ।


प्रतिकृया दिनुहोस्