Skip
आज : २०८३ कार्तिक २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रियादमा क्षेप्यास्त्र रोकिएपछि विस्फोटका आवाज

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २४ गते


Advertisement

२४ कार्तिक, रियाद । साउदी अरेबियाको राजधानी रियादतर्फ प्रहार गरिएको ब्यालिस्टिक क्षेप्यास्त्र हवाई प्रतिरक्षा प्रणालीले रोकेपछि मंगलबार बिहान राजधानीमा विस्फोटका आवाज सुनिएका छन् ।

यमनका हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको सैन्य गठबन्धनले इरान समर्थित समूहले प्रहार गरेको क्षेप्यास्त्र नष्ट गरिएको जनाएको छ ।

एएफपीका पत्रकारले राजधानीमा लगातार विस्फोटका आवाज सुनेका थिए । त्यसपछि स्थानीय बासिन्दाले मोबाइल फोनमा हवाई आक्रमणको जोखिम रहेको भन्दै सुरक्षित स्थानमा आश्रय लिन निर्देशन दिइएका सन्देश प्राप्त गरेका थिए ।

साउदी नेतृत्वको गठबन्धनले सामाजिक सञ्जाल एक्समार्फत आतंकवादी हुथी समूहले रियादतर्फ प्रहार गरेको ब्यालिस्टिक क्षेप्यास्त्र हवाई प्रतिरक्षा प्रणालीले रोकेर नष्ट गरिएको जनाएको छ । साउदी नागरिक सुरक्षा निकायले भने पछिल्लो सन्देशमार्फत तत्कालको खतरा टरेको जानकारी दिएको छ ।

गठबन्धनले यसअघि रातभर देशको दक्षिणी क्षेत्रतर्फ प्रहार गरिएको अर्को ब्यालिस्टिक क्षेप्यास्त्र पनि हवाई सुरक्षामार्फत नष्ट गरिएको जनाएको थियो ।

विश्वकै सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले यमनमा लामो समयदेखि जारी द्वन्द्वका क्रममा युद्धविरामको घोषणा भएको जुलाईयता पनि हुथी समूहको निरन्तर आक्रमण सामना गर्दै आएको छ । पछिल्ला हप्ताहरूमा दैनिकजसो आक्रमणका घटना भइरहेका छन् ।

आइतबार हुथी समूहले रियादको व्यापारिक क्षेत्रमा आक्रमण गरेको दाबी गरेको थियो । उक्त घटनाका क्रममा अरामको टावरमा क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका थिए । साउदी अधिकारीहरूले भने आक्रमणको प्रयासपछि खसेको क्षेप्यास्त्रको छर्राले भवनमा सामान्य क्षति पुर्‍याएको जनाएका थिए ।

साउदी प्रेस एजेन्सीले मंगलबार सार्वजनिक गरेको तस्बिरमा रियाद क्षेत्रका उपगभर्नर र अरू अधिकारीहरूले क्षतिग्रस्त भवनको निरीक्षण गरिरहेका देखाइएको छ । भवनका केही तलामा क्षति पुगेको तस्बिरमा उल्लेख छ ।

हुथी समूहले यसअघि पनि अरामको तेल ट्यांकर, प्रशोधन केन्द्र, तेल भण्डारण क्षेत्र तथा कम्पनीको मुख्यालयलाई पटक–पटक निसाना बनाउँदै आएको छ ।

साउदी नेतृत्वको गठबन्धनले सन् २०१५ मार्चमा हुथी समूहविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो । हुथीहरूले यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारलाई हटाउँदै राजधानी सानामाथि बलपूर्वक नियन्त्रण कायम गरेको केही महिनापछि गठबन्धनले द्वन्द्वमा हस्तक्षेप गरेको थियो


प्रतिकृया दिनुहोस्