Skip
आज : २०८३ कार्तिक ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जुम्लाबाट ७ हजार ३३० मेट्रिकटन स्याउ निर्यात

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २ गते


Advertisement

२ कार्तिक, काठमाडौं । जुम्लाबाट ७ हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको छ। कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा उत्पादन भएको स्याउ हालसम्म करिब सात हजार ३३० मेट्रिकटन बाहिरी जिल्लामा गएको छ।

कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जिल्लामा करिब १९ हजार ५०० मेट्रिकटन स्याउ उत्पादन भई रु ५५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको जानकारी दिए। हाल प्रतिकेजी न्यूनतम रु ७५ मा स्थानीय बगैँचाबाट किसानले स्याउ बिक्री गरिरहेका छन्।

तातोपानी गाउँपालिका–६ स्थित बाँजारावलामा सात हजार १४० रोपनी क्षेत्रफलमा भएको सामूहिक स्याउ खेतीबाट मात्र ३४ मेट्रिकटन स्याउ उत्पादन भएको छ। जसबाट मात्र रु ३० लाख बराबरको स्याउ बिक्री भएको कार्यालय प्रमुख अधिकारीको भनाइ छ। जुम्लामा झण्डै चार हजार ६०५ हेक्टर अर्थात् ९२ हजार ८० रोपनी क्षेत्रफलमा स्याउखेती हुने गरेको छ।

चालु आवमा झण्डै १०८ हेक्टर अर्थात् दुई हजार १६० रोपनी थप क्षेत्रफलमा स्याउखेती विस्तार गरिने लक्ष्य कार्यालयले लिएको कार्यालय प्रमुख अधिकारीले बताए। उच्च जातको फुजी स्याउको खेती भने जम्मा ५२ हेक्टर क्षेत्रफलमा भएको छ। यस वर्ष ४९ हेक्टरमा मात्र फुजी स्याउ फलेको कृषि कार्यालयले जनाएको छ।

यसैगरी, रेडडेलिसेस, रोयलडेलिसेस, गोल्डेन, रिचा रेड, जनाथन, स्पोरलगायत स्थानीय जातका स्याउको खेती भई बिक्री वितरण भइरहेको कृषि कार्यालयले जनाएको छ।

केही स्याउ व्यापारीले कोल्ड स्टोरका साथै घरमा पनि राखिएकाले निर्यात र रकम बढ्न सक्ने अनुमान गरिएको छ। कार्यालयका अनुसार यहाँका आठवटै स्थानीय तहका करिब १९ हजार घरधुरी स्याउ खेतीमै निर्भर रहेको जनाएको छ।

यो वर्ष भारतबाट आउने स्याउ नेपालमा बन्द भएपछि जुम्लाको स्याउले बजार राम्रो पाएको छ। जिल्लाबाट एक हजार ५०० कार्टुन स्याउ खरिद गरी नेपालगञ्जमा बिक्री गरेको हिमा गाउँपालिकाका स्थानीय स्याउ व्यापारी माया रोकायाले जानकारी दिए


प्रतिकृया दिनुहोस्