२ कार्तिक, काठमाडौं । गोरखाको आरुघाटस्थित बूढीगण्डकी नदीमा बेलीब्रिज निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ।
नेपाली सेना र सडक विभागको सहकार्यमा निर्माण गरिएको पुल सञ्चालनमा आएसँगै बाढीका कारण अवरुद्ध आवागमन सहज बनेको छ।
नेपाली सेनाले सोमबार पुल निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरेको हो। २७।४३ मिटर लामो उक्त बेलीब्रिजको अधिकतम भारवहन क्षमता २५ टन रहेको छ।
हाल पुलबाट पैदलयात्री र मोटरसाइकललाई आवतजावत गर्न अनुमति दिइएको छ। ठूला सवारीसाधनका लागि भने पुल सञ्चालनमा आइसकेको छैन।
गत असोज २५ गते बिहान बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले आरुघाटस्थित पक्की पुल बगाएको थियो। पुल बगाएपछि स्थानीयवासीलाई नदी वारपार गर्न समस्या हुँदै आएको थियो।
बेलीब्रिज निर्माणको काम असोज ३१ गतेदेखि सुरु गरिएको थियो। निर्माण सुरु भएको दुई दिनमै पुल तयार पारिएको हो।
बाढीले पक्की पुल बगाएको नौ दिनपछि वैकल्पिक पुल सञ्चालनमा आएपछि स्थानीयवासीलाई नदी वारपार गर्न सहज भएको छ।































