काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन् ।
स्वदेश फर्किएका मन्त्री खनालले नेपालको जलवायु न्यायको एजेन्डाले अन्तर्राष्ट्रिय मञ्चमा गम्भीर ध्यानाकर्षण गराएको दाबी गरेका छन्।
आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को सम्बोधनसहित नेपालका धारणा विश्वमञ्चमा प्रभावकारी रूपमा प्रस्तुत भएको बताए।
खनालले भोटेकोसी बाढीपछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग मागिएको तथा जलवायु वित्त र क्षतिपूर्ति कोषको प्रभावकारी परिचालनमा जोड दिइएको जानकारी दिए।
उनका अनुसार भ्रमणका क्रममा ग्रेनाडा, नामिबिया र सेनेगलसँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या १८८ पुगेको छ।
विभिन्न मुलुकसँग भिसा छुटसम्बन्धी समझदारीसमेत भएको उनले बताए।
































