Skip

Hamro Sanchar

जलवायु परिवर्तनको असर घटाउन विश्वसमुदायलाई आह्वान गर्छौं : प्रधानमन्त्री बालेन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ३० गते


Advertisement

३० भदौ, मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका निम्ति आह्वान गरिने बताएका छन् ।

प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित ‘घरपझोङ जलवायु सम्मेलन’का क्रममा पठाएको शुभकामना सन्देशमा जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विषय विश्वसमुदायको साझा जिम्मेवारी रहेकाले समाधानका निम्ति सबैको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका उल्लेख छ ।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परिरहेको समस्या, क्षति, समाधानलगायत विषयमा विश्वसमुदायको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका शुभकामना सन्देशमा उल्लेख छ ।

जलवायु परिवर्तनले नेपालको हिमाली, पहाडी र तराई क्षेत्रमा परिरहेको गम्भीर असरबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई ध्यानाकर्षण गराउने पनि प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

विश्वव्यापी रूपमा तापक्रम वृद्धि हुँदा हाम्रा हिमालहरू पग्लने, हिमचट्टान टुक्रने, हिमालहरू फुट्ने, हिमनदीहरूको बहाव बढ्ने, पानीका मुहानहरू सुक्दै जाने, मौसममा अप्रत्याशित परिवर्तन आउनेलगायत समस्या हिमाली क्षेत्रसहित समग्र नेपालीले भोग्नुपरेको तथा जलवायु परिवर्तनका कारण स्थानीयको जनजीवन, कृषि, जैविक विविधितामा पनि असर पर्न थालेको उनको सन्देशमा उल्लेख छ ।

हिमाली जिल्ला मुस्ताङको जोमसोममा ‘घरपझोङ जलवायु सम्मेलन’ आयोजना भएकामा खुसी व्यक्त गर्दै उनले शुभकामना सन्देशमार्फत जलवायु परिवर्तनको असर सामना गर्ने कार्यमा संघ, प्रदेश र स्थानीय तहबीच बलियो सहकार्य हुन आवश्यक रहेको बताएका छन् ।

घरपझोङ गाउँपालिकाले आयोजना गरेको दुईदिने सम्मेलन आज कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गरेकी छन् । सम्मेलनमा देशभरका अधिकांश गाउँपालिका तथा नगरपालिकाका प्रमुख एवं जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता छ ।

हिमपहिरोबाट भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको तथा राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रमसहित व्यापक तयारी भइरहेको अवस्थामा आयोजित सम्मेलनलाई महत्त्वका साथ हेरिएको छ ।


प्रतिकृया दिनुहोस्