Skip

Hamro Sanchar

मनोहरामा राति बाढी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ३० गते


Advertisement

३० भदौ, काठमाडौं । भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनोहरा खोलामा गएराति पानीको बहाव बढेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।

खोला किनारमा टहरा एवं घर बनाएर बसोबास गर्दै आएका स्थानीय बस्ती छाडेर भक्तपुरको लोकन्थली हाइटमा पुगेका हुन्।

चाँगुनारायण नगरपालिकाको नगरकोटदेखि काठमाडौँको साँखुलगातका क्षेत्रमा साँझ परेको ठूलो वर्षाका कारण आएको बाढीले खोला किनाराका बस्तीमा पानी पसेको छ। बस्तीमा पानी पसेपछि स्थानीयवासी लोकन्थलीको हाइटमा पुगेको स्थानीय कमलनाथ प्रसाईँले जानकारी दिए।

राति ९ः०० बजे खोलाको बहाव बढेपछि साइरन बजाइएको थियो। सरकारले मनोहरा सुकुमवासी बस्ती यसअघि नै हटाएको छ। जडीबुटी पेप्सीकोलाको पश्चिमतर्फ निजी जग्गा भाडामा लिएर र आफ्नै जग्गामा घरटहरा बनाएर बसेकाको बस्तीभित्र बाढी पसेको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले मनोहरा खोलामा बाढीको बहाव बढेसँगै राति नै प्रहरीले खोला किनारका बस्तीमा प्रहरी परिचालन गरी स्थानीयलाई सुरक्षित स्थानमा सारेको जानकारी दिए।

उनले आवश्यक पर्दा उद्धारका लागि सुरक्षाकर्मी तयारी अवस्थामा रहेको जानकारी दिए।

सुरक्षाकर्मी तम्तयारी अवस्थामा रहेको उल्लेख गर्दै उनले राति १० बजेपछि खोलामा पानीको बहाव क्रमशः कम हुँदै गएको बताए। जोखिम कायम रहेकाले सावधानी अपनाउन प्रहरीले स्थानीयवासीलाई आग्रह गरेको छ ।


प्रतिकृया दिनुहोस्