Skip

Hamro Sanchar

तीजको दिन पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २८ गते


Advertisement

२८ भदौ, काठमाडौं । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिने भएको छ।

सोमबार तीजका दिन भक्तजनका लागि विशेष पूजा तथा दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

तीजमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको ठूलो भीड लाग्ने भएकाले भक्तजनको सहज व्यवस्थापनका लागि मन्दिरबाहिर पाँच वटा लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि आठ वटा लाइनको व्यवस्था गरिने भएको छ।

तीज पर्वका दिन दर्शनमार्ग, मेला क्षेत्र र दर्शनार्थीहरुको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै काठमाडौ महानगरपालिकाको नगर प्रहरी बलको पोष्ट खडा गरी सुरक्षा व्यबस्था मिलाइएको छ।

दर्शनार्थीमध्ये महिलाको संख्या उल्लेख्य हुने भएकाले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन महिला सुरक्षाकर्मीको संख्या बढाउने कोषले जानकारी दिएको छ।

यस्तै, तीजका दिन काठमाडौं उपत्यकामा सवारी चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापनका लागि छुट्टाछुट्टै पार्किङस्थल तोकिएको छ।

विशिष्ट व्यक्तिका सवारीसाधन पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था गरिएको छ भने अन्य सवारीसाधनका लागि भने भण्डारखाल पार्किङ, सिफल चौर, वनकाली पार्किङ, तिलगंगा र उमाकुण्ड पार्किङस्थल निर्धारण गरिएको कोषकी सदस्य संगिता कुमारी रामले जानकारी दिइन्।

कोषले पशुपति नाथको दर्शन गर्न आउने भक्तजनलाइ बहुमुल्य गरगहना नलगाइ आउन र साना बालबालिकालाइ साथमा नल्याउन समेत आग्रह गरेको छ ।


प्रतिकृया दिनुहोस्