२७ भदौ, काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा ७ जनाको शव फेला परेको जनाइएको छ।
२ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार सुरुङ तथा हेडवक्स क्षेत्रमा जारी खोजीका क्रममा ती शव फेला परेका हुन्।
२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ आयोजनामा बाढीपछि धेरै व्यक्ति बेपत्ता भएको बताइएको छ। नेपाली सेना र आयोजना प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका सर्भे इन्जिनियरसहितको टोलीले अडिट–१ क्षेत्रमा निरीक्षण गर्दा सुरुङ तथा आसपासको भाग ठूलो मात्रामा माटो, ढुंगा, बालुवा र अन्य भग्नावशेषले पूर्ण रूपमा भरिएको पाइएको थियो।
बेपत्ताको खोजीलाई प्राथमिकता दिँदै मैलुङ क्याम्प साइटमा मिनी स्काभेटरमार्फत उत्खनन सुरु गरिएको छ। यस्तै, अडिट–३ क्षेत्रमा नेपाली सेना र अष्ट्रेलियाली उद्धार टोलीले संयुक्त रूपमा खोजी गरेको कम्पनीले जनाएको छ।
आयोजना क्षेत्रमा थुप्रिएको भग्नावशेष हटाउने, जोखिमयुक्त स्थानमा खोजी गर्ने र सम्भावित शव तथा बेपत्ता व्यक्तिको अवस्था पत्ता लगाउने कामलाई आज थप तीव्र बनाउने तयारी गरिएको छ।
बाढीपछि आयोजनाका विभिन्न संरचनामा ठूलो क्षति पुगेको अवस्थामा उद्धार टोलीले मानवीय क्षतिको यकिन विवरण निकाल्न तथा बेपत्ता व्यक्तिको खोजीलाई निर्णायक चरणमा पुर्याउन प्रयास गरिरहेको छ। थप शव तथा बेपत्ता व्यक्तिको अवस्थाबारे खोजीबाट क्रमशः जानकारी आउने अपेक्षा गरिएको छ।
































