२५ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि यातायात सम्पर्कविहीन बनेको नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले वैकल्पिक पुल निर्माणको काम सम्पन्न गरेको छ ।
बाढीका कारण भत्किएको यातायात सम्पर्क पुनःस्थापित गर्न नेपाली सेनाले पाँच दिनअघि थालेको एक्रो ब्रिज जडान कार्य बुधवार राति सम्पन्न गरेको हो । सेनाको प्राविधिक तथा उद्धार टोली निरन्तर खटिएर छोटो समयमै पुल जडान गर्न सफल भएको जनाइएको छ ।
पुल जडान सम्पन्न भएसँगै देवीघाट क्षेत्रबाट हुने आवतजावत क्रमशः सहज हुने भएको छ। आजदेखि पैदलयात्रीका लागि पुल खुला गरिनेछ भने भोलि शुक्रवारदेखि सवारीसाधनसमेत सञ्चालनमा ल्याइने तयारी गरिएको छ ।
भोटेकोशीमा आएको भीषण बाढीले देवीघाट क्षेत्रमा रहेको पक्की पुल बगाएपछि नुवाकोटसहित आसपासका क्षेत्रको सडक तथा यातायात सम्पर्कमा ठूलो समस्या उत्पन्न भएको थियो । पुल नहुँदा स्थानीयवासी, यात्रु, व्यवसायी तथा अत्यावश्यक सेवाका साधनसमेत प्रभावित भएका थिए ।
बाढीपछि अवरुद्ध यातायात सम्पर्कलाई तत्काल पुनःस्थापित गर्ने उद्देश्यले नेपाली सेनाले वैकल्पिक प्रविधिबाट एक्रो ब्रिज जडानको काम अघि बढाएको थियो । सीमित समय र चुनौतीपूर्ण परिस्थितिका बाबजुद सेनाको टोलीले निरन्तर काम गरेर पाँच दिनमै पुल तयार पारेको हो ।
पुल सञ्चालनमा आएपछि नुवाकोट तथा आसपासका क्षेत्रका नागरिकलाई आवतजावतमा सहजता हुनुका साथै दैनिक उपभोग्य वस्तुको ढुवानी, व्यापार–व्यवसाय र अत्यावश्यक सेवाको पहुँचसमेत सहज हुने अपेक्षा गरिएको छ ।
विपद्का कारण अवरुद्ध बनेको सडक सम्पर्कलाई छोटो समयमै पुनःस्थापित गर्न नेपाली सेनाले गरेको कामले स्थानीयवासीमा राहतको अनुभूति भएको छ। बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना तथा यातायात सम्पर्कलाई सामान्य अवस्थामा फर्काउने कार्यमा यो पुल महत्वपूर्ण पूर्वाधारका रूपमा रहने छ ।
































