२४ भदौ, काठमाडौं । नेकपा एमालेले गत भदौ २३ र २४ गते भएका घटनालाई नेपालको लोकतान्त्रिक इतिहासकै गम्भीर घटनाका रूपमा चित्रण गर्दै त्यसको निष्पक्ष र गहिरो छानबिन गर्न माग गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको प्रेस वक्तव्यमा लोकतन्त्र, संविधान, राष्ट्रिय हित र स्वाभिमानको रक्षाका लागि सबै देशभक्त तथा लोकतान्त्रिक शक्तिलाई एकजुट हुन आह्वान गरिएको छ।
भदौ २४ गतेको दुःखद् घटनालाई स्मरण गर्दै एमालेले त्यसक्रममा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।
साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विस्थापित तथा प्रभावित राजनीतिक–सामाजिक व्यक्तित्व र व्यवसायीहरूको पुनःस्थापनाको शुभेच्छा व्यक्त गरेको छ।
एमालेका अनुसार नवयुवाहरूले सामाजिक सञ्जालको निर्वाध सञ्चालन, सुशासनलगायत विषयमा प्रशासनसँग शान्तिपूर्ण प्रदर्शनको अनुमति मागेका थिए।
आयोजकहरूले प्रदर्शन शान्तिपूर्ण, कानुनको दायराभित्र र मर्यादित हुने प्रतिबद्धता जनाएका तथा प्रशासनले पनि सोहीअनुसार प्रदर्शनको अनुमति दिएको एमालेको भनाइ छ।
तर, प्रदर्शन सुरु भएपछि विभिन्न आपराधिक समूह घुसपैठ गरेर त्यसलाई अनियन्त्रित, अराजक र हिंसात्मक बनाएको एमालेले दाबी गरेको छ।
प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोगबाट १९ जना युवाको ज्यान गएको र त्यसले दुःखद् परिस्थिति सिर्जना गरेको उल्लेख गर्दै एमालेले त्यसबारे पनि सत्यतथ्य खोजिनुपर्ने जनाएको छ।
त्यसपछिको अवस्थामा बसेको मन्त्रिपरिषद् बैठकले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै न्यायिक आयोग गठन गर्ने, सामाजिक सञ्जाललाई नियमन गर्ने लगाइएको अस्थायी बन्देज फुकुवा गर्ने, घाइतेहरूको निःशुल्क उपचार गर्ने तथा पीडित परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको एमालेले स्मरण गराएको छ।
घटनाप्रति तत्कालीन गृहमन्त्रीले राजीनामा दिएको विषयलाई पनि वक्तव्यमा उल्लेख गरिएको छ।
एमालेले भने शान्तिपूर्ण प्रदर्शनलाई अपहरण गरेर सुनियोजित रूपमा लोकतन्त्रमाथि आक्रमण गर्ने तत्वहरूको उद्देश्य फरक रहेको दाबी गरेको छ।
प्रदर्शनका क्रममा राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, लोकतान्त्रिक पार्टीका कार्यालय, शहीद तथा अग्रजका स्मारक एवं सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, आगजनी र आक्रमण भएको एमालेले जनाएको छ।
वक्तव्यमा भदौ २४ गतेको घटनालाई ‘राष्ट्रियता, लोकतन्त्र र संविधानको प्रगतिशील कोर्सलाई उल्ट्याएर मुलुकलाई सर्वसत्तावाद, अराजकता र भू–राजनीतिक द्वन्द्वमा होम्ने घातक योजनाको मूर्त रूप’ भएको दाबी गरिएको छ।
एमालेले शान्तिपूर्ण भनिएको प्रदर्शन कसरी हिंसात्मक बन्न पुग्यो र त्यसका निम्ति को जिम्मेवार छन् भन्नेबारे गम्भीर छानबिन हुनुपर्नेमा जोड दिएको छ।
तत्कालीन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई घटनाको दोषी भन्दै झुटा आरोप लगाउँदै दुराग्रहपूर्वक गिरफ्तार गर्ने र मुद्दा चलाउने कुचेष्टा गरिएको दाबी पनि एमालेले गरेको छ।
त्यस्तै, भदौ २४ गतेको हिंसाका आरोपीहरूलाई जुन ढङ्गले उन्मुक्ति दिइएको र उनीहरूविरुद्ध सुरु भएको अनुसन्धान तथा अभियोजन प्रक्रियालाई रोक्ने काम भएको भन्दै एमालेले आपत्ति जनाएको छ। यसले राजनीतिको अपराधीकरणलाई संस्थागत गरेको उसको आरोप छ।
एमालेले नेपाल राज्यका मुख्य धरोहर तथा लोकतन्त्रमाथि आक्रमण हुँदा राज्यका सुरक्षा निकायले त्यसलाई किन रोक्न सकेनन्रु भन्दै प्रश्नसमेत उठाएको छ।
सुरक्षा निकायको व्यावसायिक क्षमताको अभाव हो कि निष्ठाको कमी भन्ने विषयमा समाजमा उठेका प्रश्नको यथोचित उत्तर खोज्नुपर्ने एमालेको भनाइ छ।
वक्तव्यमा निरंकुश राजतन्त्रलाई शान्तिपूर्ण जनआन्दोलनको बलमा अन्त्य गरी करिब १० वर्ष लामो सशस्त्र द्वन्द्वलाई वार्ताबाट लोकतान्त्रिक बाटोमा रूपान्तरण गर्दै नेपालले लोकतन्त्र र शान्तिको दिशामा विशिष्ट दृष्टान्त स्थापित गरेको स्मरण गरिएको छ।
तर पछिल्लो समय प्रदर्शनका नाममा अराजकतालाई ‘जायज’ र परिवर्तनका नाममा हिंसालाई ‘वैध’ बनाउने प्रयासले स्थापित लोकतान्त्रिक दृष्टान्तलाई गम्भीर जोखिममा पारेको एमालेको निष्कर्ष छ।
एमालेले अहिलेको अवस्थामा लोकतन्त्र, संविधान, राष्ट्रिय हित, स्वाभिमान र शान्तिको रक्षाका लागि सबै देशभक्त, लोकतान्त्रिक, प्रगतिशील तथा वामपन्थी शक्ति र व्यक्तिहरू नयाँ उचाइका साथ सक्रिय हुनुपर्ने बताएको छ।
एमाले अध्यक्ष ओलीले लोकतन्त्रमा उत्पन्न हुने जुनसुकै समस्याको समाधान शान्तिपूर्ण र संवैधानिक बाटोबाटै खोजिनुपर्ने भन्दै सबैमा सहकार्यका साथ अघि बढ्न अपिल गरेका छन्।



































