Skip

Hamro Sanchar

इजरायलमा झन्डै १५ सय जना नेपालीका लागि खुल्यो जागिर, कति छ तलब ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २३ गते


Advertisement

२३ भदौ, काठमाडौं । इजरायलमा रोजगारीका लागि जान चाहने नेपाली नागरिकका लागि आकर्षक अवसर खुलेको छ।

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्ने गरी १ हजार ४६४ जना नेपाली कामदार माग गरिएको हो।

वैदेशिक रोजगार विभागका अनुसार गम्भीर अपांगता भएका व्यक्तिको स्याहारका लागि सहायक कामदार पदमा नेपाली नागरिकको आवेदन खुला गरिएको छ।

माग भएका कामदारमध्ये १ हजार १३२ जना महिला र ३३२ जना पुरुष रहेका छन्।

आवेदन दिन इच्छुक नेपाली नागरिकको उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।

विभागका अनुसार इच्छुकले भदौ २३ गतेदेखि असोज २६ गते राति ११ः५९ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

छनोट भएका कामदारले मासिक ६ हजार ४४३।८५ इजरायली शेकेल तलब पाउनेछन्। हालको विनिमय दरअनुसार यो रकम करिब ३ लाख २३ हजार रुपैयाँभन्दा बढी हुन आउँछ।

यसका अतिरिक्त इजरायली श्रम कानुनअनुसार ओभरटाइम सुविधा समेत उपलब्ध हुने भएकाले कामदारको वास्तविक मासिक आम्दानी तोकिएको तलबभन्दा बढी हुन सक्नेछ।

कामको समय सातामा ४२ घण्टा तोकिएको छ। कामदारले हप्तामा एक दिन बिदा पाउनेछन् भने वार्षिक बिदा इजरायली कानुनअनुसार हुने जनाइएको छ।

बसोबासका लागि रोजगारदाताले व्यवस्था गर्ने भए पनि बस्ने खर्च कामदार आफैंले व्यहोर्नुपर्नेछ। त्यस्तै, खानाको व्यवस्था रोजगारदाताले नगर्ने विभागको सूचनामा उल्लेख छ।

इजरायलमा वैदेशिक रोजगारीको अवसर खोजिरहेका योग्य नेपालीका लागि ठूलो संख्यामा खुलेको यो आवेदन महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। इच्छुक उम्मेदवारले तोकिएको उमेर, योग्यता तथा अन्य आवश्यक मापदण्ड पूरा गरी निर्धारित समयभित्र अनलाइन आवेदन दिनुपर्नेछ।


प्रतिकृया दिनुहोस्