२२ भदौ, काठमाडौं । भोटेकोसि बाढीमा परेकामध्य हालसम्म १३ हजार ३ सय २६ जनाको उद्धार गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण विभिन्न जिल्लामा १ हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ।
विवरणअनुसार रसुवामा १६६, नुवाकोटमा १२७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २९१ जनाको मृत्यु भएको छ।
बाढीमा ज्यान गुमाएका १८ जनाको शव पहिचान गरी आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ।
बाढीपछि करिब ४ हजार ९ सय ९६ जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीनमध्ये रसुवाका करिब १ हजार ९६७, नुवाकोटका २ हजार ३४०, सुरक्षाकर्मी तथा कर्मचारी करिब १०० र विदेशी नागरिक करिब ५८९ जना रहेको विवरणमा उल्लेख छ।
घाइतेमध्ये ६ हजार ६७२ जनाको उपचार
गरिएको छ। विभिन्न अस्पतालमा ३२३ जना, नेपाली सेनामार्फत ३ हजार ३७९ जना र सशस्त्र प्रहरीमार्फत २ हजार ९७० जनाको उपचार गरिएको छ।
बाढीपीडितका लागि ३९ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएका छन्, जहाँ ३ हजार ५३३ जना आश्रय लिइरहेका छन्।
तीमध्ये रसुवामा ६६९, नुवाकोटमा २ हजार ६५१ र धादिङमा २१३ जना रहेका छन्। उद्धार तथा राहत कार्यमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी २२ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ।
नेपाली सेनाले हेलिकप्टरमार्फत नियमित उद्धार तथा राहत उडान गरिरहेको छ। प्रभावित क्षेत्रमा खाद्यान्न, इन्धन, ग्यास सिलिन्डर तथा अन्य राहत सामग्री पठाइएको छ।
सरकारले रसुवा र नुवाकोटलाई १र१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ।
दूरसञ्चार सेवातर्फ नेपाल टेलिकमका १२० वटा बेस स्टेसनमध्ये ११७ वटा र एनसेलका ९६ मध्ये ९० वटा सञ्चालनमा रहेको प्राधिकरणले जनाएको छ।
































