१८ भदौ,काठमाडौँ। सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सङ्गठनको तर्फबाट १५ करोड ५० लाख रुपैयाँ जम्मा गर्ने भएको छ।
बाढी तथा विपद्बाट प्रभावितका लागि सशस्त्र प्रहरी कर्मचारीको तलबबाट समेत रकम कट्टा गरी राहत कोषमा योगदान गर्ने निर्णय भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
निर्णयअनुसार सशस्त्र प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकले १५ दिन, नायव महानिरीक्षक र वरिष्ठ उपरीक्षकले १२ दिन, उपरीक्षक, नायव उपरीक्षक र निरीक्षकले १० दिन, जुनियर अधिकृतले ७ दिन, वरिष्ठ हवलदारदेखि जवानसम्मले ५ दिन तथा सशस्त्र प्रहरी परिचरले ३ दिनको तलब बराबरको रकम योगदान गर्नेछन्।
बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई तत्काल २५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय पनि भएको छ।
राष्ट्रसेवकका तर्फबाट १५ लाख, सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा उपलब्ध गराउने राहतसम्बन्धी कार्यविधि, २०७९ बमोजिम ५ लाख र सशस्त्र प्रहरी बल नेपाल विपद् प्रकोप राहत कोष सञ्चालनसम्बन्धी मापदण्ड, २०८१ बमोजिम ५ लाख गरी कुल २५ लाख रुपैयाँ उपलब्ध गराइनेछ।
बाढीमा परी ज्यान जोगाउन सफल भएका पाँच जना सशस्त्र प्रहरी कर्मचारीलाई जनही ५० हजार रुपैयाँ राहत दिने निर्णय पनि भएको छ। बाढीका कारण ज्यान गुमाएका कर्मचारीका आश्रित परिवारका सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति १ लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ।
सङ्गठनले मृतक कर्मचारीले कल्याण कोषबाट लिएको र भुक्तानी गर्न बाँकी सम्पूर्ण ऋण मिनाहा गर्ने निर्णय गरेको छ। त्यस्तै मृतक कर्मचारीका सन्ततिलाई पायक पर्ने नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म अध्ययनका लागि शैक्षिक शुल्क छुट दिने निर्णय भएको छ।
मृतक सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका एक–एक जना सदस्यलाई सीपमूलक तालिम प्रदान गरिनेछ। बाढीमा मृत्यु भएका कर्मचारीको स्मृतिमा उपयुक्त स्थानमा स्मारक निर्माण गर्ने निर्णयसमेत भएको छ।
बाढीबाट प्रभावित अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा १ लाख, घरबारविहीन भएमा १ लाख तथा आंशिक भौतिक क्षति भएका र घाइतेलाई ५० हजार रुपैयाँसम्म तत्काल राहत उपलब्ध गराइने सशस्त्र प्रहरी बलले जनाएको छ।
त्यस्तै बाढीमा ज्यान जोगाउन सफल भएका बीओपी टिमुरे र सुरक्षा बेस मैलुङमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीको तलब भने राहत कोषका लागि कट्टा नगरिने भएको छ ।
































