चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौंबाहिर खाना पकाउने ग्यास भरेर(बोटलिङ)लैजान थालिएको छ ।
ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौं छिर्न नसकेपछि बाहिर नै भरेर सिलिन्डरमा भरेर लैजान थालिएको हो ।
साल्ट ट्रेडिङ कर्पोरेसनको एसटीसी ग्यास वीरगन्जको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ ।
बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार, मंगलबार (भदौ १६)चितवनको बाबा ग्यासले एक हजार ५०० श्री ग्यासका सिलिन्डर भरेर पठाएको छ ।
श्री ग्यासको प्लान्ट धादिङ नौबिसेमा छ । यस्तै, यहाँको साइबाबाले आफ्नै ९०० सिलिन्डर काठमाडौं पठाएको छ । नेपाल ग्यास गण्डकीले बालाजुको नेपाल ग्यासको एक हजार २०० सिलिन्डर भरेर पठाएको छ ।
गैँडाकोटको जानकीमा नौबिसेको श्रीराम, हेटौँडाको सहारामा काठमाडौंको एभरेस्ट र सुगमको ग्यास भरेर पठाइएको छ । उनले भने, “साल्ट ट्रेडिङ कर्पोरेसनको एसटीसी ग्यास वीरगन्जको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ ।”
सञ्चालक विमल कालाखेतीका अनुसार, बनेपाको सगरमाथाले परासीको चण्डी ग्यासमा, बनेपाकै लोकप्रिय, सुपर ग्यास, तारा ग्यासलगायतले राजधानीबाहिरका विभिन्न ग्यास उद्योगमा भरेर सिलिन्डर त्रिभुवन राजपथबाट पठाउन सुरु गरेका छन् ।
नेपाल एलपी ग्यास उद्योग संघका सदस्य समेत रहेका सञ्चालक कालाखेतीले भारतबाट आउने ग्यास नघटेको र बुलेट पुर्याउन नसकेका उद्योगले अरू उद्योगमा भरेर ट्रकमा राखेर पठाइरहेकाले ग्यासको अभाव नहुने बताए ।
गएको महिना भारतबाट ६० हजार २०० मेट्रिकटन ग्यास नेपाल आएको जनाउँदै उनले यो मात्रा हालसम्मको बढी भएको बताए । सोही अनुपातमा ग्यास आइरहेकाले समस्या पर्ने अवस्था नरहेको उनले उल्लेख गरे ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दले नेपाल आयल निगमले उद्योगीलाई राजधानीबाहिर ग्यास भर्न अनुमति दिएको जानकारी दिए ।
उपत्यका र छिमेकी जिल्लामा रहेका १६ उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाका उद्योगसँग समन्वय गरी भरेर उपत्यका लैजान थालेका छन् । उपत्यका र छिमेकी जिल्लामा कुल खपतको ४० प्रतिशत खपत हुने उनी बताउँछन् ।
































