१८ भदौ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह बालेनलाई आफ्नो सुझावअनुसार अघि बढ्न आग्रह गरेका छन् ।
अन्यथा अरु सल्लाहकारहरूको भर पर्दा असफल भइने साम्पाङको चेतावनी छ ।
आज बिहानै सामाजिक सञ्जालमा लेख्दै साम्पाङले बालेनलाई विगतमा पनि आफूले सही सल्लाह दिएको स्मरण गराए ।
उनले जति नै आलोचना गरे पनि बालेनलाई आफूले व्यवहारले माया गरेको जिकिर गरेका छन।
तिमीलाई अफसल बनाउन तिम्रै सल्लाहकारहरू जिम्मेवार छन् । तिमी सफल बन्नका लागि मेरो सल्लाहमा हिँड्नै पर्छ ।मुखले आई लभ यू भन्दिनँ म । शब्दमा होइन, व्यवहारमा छ मेरो मायाु, साम्पाङले बालेनलाई सम्बोधन गर्दै लेखेका छन्, तिमीलाई असफल तिम्रै वरिपरिको मान्छेहरूले बनाउँदै छन् । आँखा चिम्लेर सोच । तनको आँखाले हेर्दा मलाई देख्दैनौँ । मलाई देख्न मनको आँखा खोलेर हेर ।
रसुवा बाढीपछि राहत र उद्धारको काममा सरकार असफल भएको टिप्पणीहरू आइरहँदा हर्कले विगतमा फोहोर व्यवस्थापनको विषयमा पनि बालेनलाई असफल पार्न खोजिँदा आफूले सही सल्लाह दिएको स्मरण गराएका हुन् ।
उनले लेखेका छन्, बालेन तिमीलाई मैले भनेकै हुँ, पुरानो साथी भएको नाताले । २७(२८ जना सल्लाहकारको कुरा सुन्नु भन्दा मेरो फेसबुकको वाल पढ्नू, अनि अघि बढ्नू । काठमाडौंको बञ्चरेडाँडामा फोहोर लान रोक्दा पनि मैले कटाक्ष गरेको थेँ । त्यसपछि फोहोर व्यवस्थापनमा लागेका थियौ । त्यो दिनलाई सम्झ जब तिमी मेयर बनेको केही महिनामै फोहोर रोकेर समस्या भोगेका थियौ । मैले गरेको आलोचना देख्ने, तर त्यो आलोचनाभित्रको सुझाव नदेख्ने र नबुझ्ने ?
यसपालि पनि मैले के भनेको थेँ उद्धारको बारेमा ? हर्कले सोधेका छन् ।
स्मरणीय छ– आफ्नो आलोचना गर्दै आएका साम्पाङलाई बालेनले कुनै दिन भनेका थिए, डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ । एक तर्फी नै सही, तर मेरो माया साँचो हो । यु आर माइ ट्रु लभ।
































