१६ भदौ, काठमाडौँ । रसुवा बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ (टनेल)मा फसेकाहरूको उद्धारमा प्रगति हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सुरुङ उद्धारमा प्रगति हुन नसकेको जानकारी दिएका हुन् ।
उनका अनुसार सुरुङ उद्धारका लागि नेपाली टोलीसँगै भारत र चीनबाट आएका सुरुङ विशेषज्ञहरूले काम गरिरहेका छन्।
उद्धार टोलीले कठिन भौगोलिक अवस्थाबीच निरन्तर प्रयास गरिरहेको उनले बताए। भारतबाट आएका २४ सदस्यीय दुई टोली र चीनबाट आएको नौ सदस्यीय विशेष सुरुङ उद्धार टोली जलविद्युत् आयोजनाको सुरुङमा परिचालित छन्।
भारतीय टोलीले चिलिमे र लाङटाङ जलविद्युत् आयोजनामा नेपाली सेनासँग सहकार्य गरेर काम गरिरहेको छ भने चिनियाँ टोलीले माथिल्लो त्रिशूली–३ ए आयोजना क्षेत्रमा खोजी गरिरहेको छ। दक्षिण कोरियाबाट पनि उद्धार टोली नेपाल आउन लागेको उनले जानकारी दिए।
बाढी गएको ७ दिनसम्म पनि चिलिमे, लाङटाङ, माथिल्लो त्रिशूली–३ ए र माथिल्लो त्रिशूली–३ बी लगायतका आयोजनामा फसेकाहरूको उद्धार गर्न सकिएको छैन ।































