Skip

Hamro Sanchar

कृष्णभीरमा सडक भासिएपछि अब उपत्यका बाहिरै भरेर ल्याइने ग्यास सिलिन्डर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १६ गते


Advertisement

१६ भदौ, काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि यतिबेला पृथ्वी राजमार्गमा आवतजावत बन्द छ।

ग्यास बोकेका बुलेट राजधानी जान नसक्ने भएपछि अब राजधानी बाहिरै ग्यास वोटलिङ (भरिने)भएको छ। उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यका बाहिर भरेर गाडीमा काठमाडौँ ग्यास लैजाने भएका हुन्।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको छ।

उपत्यका र छिमेकी जिल्लामा रहेका १६ वटा उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाका उद्योगसँग समन्वय गरी ग्यास भर्ने भएका छन्।

उपत्यका र छिमेकी जिल्लामा मात्रै कुल खपतको ४० प्रतिशत बढी ग्यास आवश्यक रहेको उनले बताए।

सङ्घका सदस्यसमेत रहेका बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले कृष्णभीरको बाटो नखुलेसम्म अन्य उद्योगमा ग्यास भरेर वैकल्पिक बाटोबाट काठमाडौँ लगिने जानकारी दिए।

यी जिल्लाका उद्योगमा भरेका ग्यास सिलिन्डर त्रिभुवन राजपथसहितका सडकबाट काठमाडौँ लगिने छ। बाहिरका उद्योगमा ग्यास भर्ने काम सुरु भइसकेकाले उपत्यका र छिमेकी जिल्लामा अभाव नहुने भन्दै उनले जगेडा नराख्न सुझाव दिए।

श्री ग्यासले बाबा, श्रीकृष्णले साइबाबा, श्रीरामले जानकी, नेपाल ग्यासले नेपाल गण्डकी, एभरेष्ट र सुगमले साहारा उद्योगमा ग्यास भर्न सुरु गरिसकेका छन्।

अन्य उद्योगले पनि राजधानी बाहिरका उद्योग वा अन्य उद्योगसँग समन्वय गरेर भर्न सुरु गरेका कालाखेतीले बताए।


प्रतिकृया दिनुहोस्