Skip

Hamro Sanchar

विपद्पीडितलाई मानसिक र शारीरिक रूपमा सशक्त बनाउँदै पुनःस्थापना गर्छौँ : प्रधानमन्त्री बालेन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १५ गते


Advertisement

१५ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले खोज, उद्धार, उपचार, राहत तथा पुनःस्थापनालाई तीव्रता दिएको बताएका छन्।

बाढी आएको छैटौँ दिनसम्म आइपुग्दा प्रभावित क्षेत्रमा सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, विभिन्न संघसंस्था तथा स्वयंसेवकहरू सक्रिय रूपमा परिचालित रहेको प्रधानमन्त्री शाहले बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्सटास् लेख्दै प्रधानमन्त्री बालेनले  बिपत्तिकाे समयमा सहयोग र समन्वय गर्ने सबैप्रति उनले धन्यवाद व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहका अनुसार हालसम्म ११ हजार ३७९ जनाको उद्धार भइसकेको छ भने ३ हजार ९२५ जना अझै सम्पर्कविहीन छन्। बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएका २७९ घाइतेमध्ये १६८ जना डिस्चार्ज भइसकेका छन्।

सरकारले रसुवा र नुवाकोटका विभिन्न वितरण केन्द्रमार्फत ३ हजार ६९६ जना प्रभावित नागरिकसम्म राहत पुर्‍याएको जनाएको छ।

भारत, चीन, अमेरिका, यूएई, कतार, जापान, स्वीट्जरल्यान्ड, अष्ट्रेलियालगायत मित्रराष्ट्रबाट समेत सहयोग प्राप्त भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्।

आर्थिक सहयोगतर्फ प्रधानमन्त्री राहत कोषमा ९ वटा वाणिज्य बैंकका खातामा हालसम्म ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको छ। त्यस्तै हिमालयन र लक्ष्मी बैंकमा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको उनले जानकारी दिएका छन्।

बाढीका कारण अवरुद्ध सडक तथा विद्युत् सेवा पुनःस्थापनाको कामसमेत तीव्र पारिएको छ।

नुवाकोटको त्रिशूलीपारिको भू–भाग पुनः सडक सञ्जालमा जोडिएको छ भने प्रभावित क्षेत्रमा अस्थायी पुल तथा बेलिब्रिज निर्माणलाई प्राथमिकता दिइएको छ। भारत र चीनबाट समेत थप बेलिब्रिज सहयोग प्राप्त हुने प्रधानमन्त्री शाहले बताएका छन्।

विद्युत्तर्फ नुवाकोटमा ८५ प्रतिशत, धादिङमा ९८ प्रतिशत क्षेत्रमा सेवा पुनःस्थापना भइसकेको छ। रसुवामा पनि विभिन्न क्षेत्रमा विद्युत् सेवा सञ्चालनमा आएको र बाँकी क्षेत्रमा पुनःस्थापनाको काम भइरहेको जनाइएको छ।

सञ्चारतर्फ नेपाल टेलिकमका १२० मध्ये ११० र एनसेलका ७८ मध्ये ७५ वटा टावर सञ्चालनमा आएका छन्।

बाढीबाट प्रभावित जलविद्युत् आयोजनाहरूमा समेत खोज तथा उद्धार जारी रहेको प्रधानमन्त्री शाहले बताएका छन्।

नेपाली सेनाले विभिन्न आयोजनाबाट ठूलो संख्यामा कर्मचारीको उद्धार गरेको छ भने रसुवागढी, माथिल्लो त्रिशूली–१, त्रिशूली–३ ए लगायतका आयोजनामा सुरुङभित्र समेत खोजी भइरहेको छ।

प्रधानमन्त्री शाहका अनुसार बाढीमा हालसम्म ९३९ जनाको शव फेला परेको छ। पहिचान भएका शव आफन्तको जिम्मा लगाउने तथा पहिचान हुन नसकेका शवलाई कानुनअनुसार वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन गर्ने काम भइरहेको छ।

प्रधानमन्त्री शाहले भोटेकोशीमा आएको बाढी सामान्य विपद् नभई हिमालय क्षेत्रमा हिउँ–चट्टानको हिमपहिरोबाट सिर्जित ठूलो विपत्ति भएको बताएका छन्।

यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको संकेत गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको विपद्को विषय बलियो रूपमा उठाउनुपर्ने बताएका छन्।

अब सरकारको ध्यान खोज तथा उद्धारसँगै प्रभावित नागरिकको पुनःस्थापनामा केन्द्रित हुने प्रधानमन्त्री शाहको भनाइ छ।

घर, परिवार, प्रियजन तथा जायजेथा गुमाएका नागरिकको पीडा बुझ्दै उनीहरूलाई मानसिक र शारीरिक रूपमा सशक्त बनाएर सामान्य जनजीवनमा फर्काउने गरी पुनःस्थापनाको काम अघि बढाइने उनले बताएका छन्।


प्रतिकृया दिनुहोस्