Skip

Hamro Sanchar

भोटेकोसी बाढी : ३ हजारको उद्धार, हराएको भन्दै १५ सय व्यक्तिका परिवार आए सम्पर्कमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १५ गते


Advertisement

१५ भदौ, काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका ३ हजारभन्दा बढीको उद्धार गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको अनुसार गएरातिसम्म ३ हजार २९ जनालाई रसुवा र नुवाकोटको विभिन्न स्थानबाट उद्धार गरिएको हो ।
तीमध्ये नेपाली नागरिक २ हजार ७७६ जना र विदेशी २५३ जना छन् । पछिल्लो २४ घण्टामा ६२४ जनाको उद्धार गरिएको प्रजिअ रेग्मीले जानकारी दिए ।

‘बाढीबाट ज्यान जोगाइ सुरक्षित स्थानमा आश्रय लिएर बसिरहेकालाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो’, प्रजिअ रेग्मीले भने, ‘उनीहरूको स्वास्थ्य जाँच गरेर उपचार आवश्यक पर्नेलाई सोहीअनुसार स्वास्थ्य संस्थामा सिफारिस गरिएको छ भने बाँकीलाई पारिवारिक पुनर्मिलन गराइएको छ ।’

भोटेकोसी बाढीमा अलपत्र परेलाई उद्धारअन्तर्गत जलविद्युत् आयोजनाको सुरुङभित्र रहेको भनिएकाबाहेकको उद्धार जारी छ ।

तर, रसुवाको टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका स्थानमा अझै केही फसेको हुनसक्छ भनेर नियमित रूपमा हेलिकोप्टरमार्फत रेकी भइरहेको प्रजिअ रेग्मीको भनाइ छ ।

यसैगरी, भोटेकोसी बाढीमा परेर हराएको जनाउँदै आइतबारसम्म १ हजार ५०० यभन्दा बढी व्यक्तिको परिवारको निवेदन परेको छ ।

नुवाकोट र रसुवाको विभिन्न स्थानबाट आफ्नो मान्छे हराएको जनाउँदै खोजतलासको लागी १ हजार ५५८ जनाको निवेदन प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।

उनको अनुसार हराएका व्यक्तिको खोजतलासका लागि नेपाल प्रहरीको वेबसाइड, जिल्ला प्रहरी कार्यालय, प्रशासन कार्यालय र श्री नं १ सैन्य तालिम केन्द्र विदुरमा निवेदन दिन सकिन्छ । हराइरहेका तथा बाढीमा फसेकालाई खोज तथा उद्धारमा हेलिकोप्टर, तालिमप्राप्त कुकुर र ड्रोन क्यामेराको सहयोगमा संयुक्त सुरक्षा फौजको टोली सक्रिय रहेको छ ।

बाढीमा परेर ज्यान गुमाएकामध्ये हालसम्म नुवाकोटमा ९५ जनाको शव सङ्कलन भएको छ । जिल्लाको विभिन्न ३० स्थानमा सयुक्त सुरक्षा टोली परिचालनमार्फत गरिएको खोज तथा उद्धारमार्फत ती शव सङ्कलन गरिएको हो । सङ्कलन भएको शवलाई पहिचानको लागि प्रहरीले तस्वीरसहितको विवरण सार्वजनिक गरेको छ ।

शवलाई नुवाकोटबाट परीक्षणको लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा पठाएकाले सम्बन्धित परिवारलाई अस्पतालमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।


प्रतिकृया दिनुहोस्